इन्द्रेणी संवाददाता
चितवन, १९ चैत । जिल्लामा सञ्चालित अधिकांश बालगृहका बालबालिकालाई क्रिश्चियन धर्म सिकाउने गरेको पाइएको छ । जिल्ला बालकल्याण समिति र महिला तथा बालबालिका कार्यालय चितवनले गरेको अनुगमनमा जबरजस्ती धर्म परिवर्तन गर्ने गराइएको पाइएको हो । अनुगमनमा सहभागी महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख शान्ताकुमारी पौडेलले अधिकांश बालगृहले क्रिश्चियन धर्मको ज्ञान बालबालिकालाई सिकाउने गरिएको बताउनुभयो ।
उहाँका अनुसार ती बालगृहमा खानाखानु अघि र खाना खाइसकेपछि यशुको प्रार्थना गर्न लगाइन्छ । यशुको प्रार्थनापछि प्रसादको रुपमा खानालाई दिने गरेको र बालबालिकालाई सोही धर्मका विषयमा पढाउने गरेको बताइएको छ । चितवनमा ३१ वटा बालगृह सञ्चालनमा छन् । जहाँ ५२१ बालक र ५२५ बालिका गरी एक हजार ४६ जना बालबालिका रहेका छन् । यस वर्षको तथ्याङ्क भने आउन बाँकी रहेकोपौडेलले बताउनुभयो ।
सबैभन्दा बढी भरतपुर उपमहानगरपालिकामा १६ वटा बालगृह छन् भने रत्ननगर नगरपालिकामा १० वटा, नारायणी नगरपालिकामा तीनवटा, राप्ती नगरपालिकामा एउटा र खैरहनी नगरपालिकामा एउटा रहेका छन् । तिनीहरूमध्ये ९० प्रतिशत बालगृहमा क्रिश्चियन धर्मको प्रचार हुने गरेको बताइएको छ । बालबालिकासम्बन्धी महासन्धी १९८९, बालबालिका ऐन २०४८ र बालबालिका नीति २०६९ ले अनाथ बालबालिकाको परिभाषामा बाबुआमा दुबैको मृत्यु भएको र एकाघरका कोही पनि नभएको अवस्थालाई मात्रै अनाथको रुपमा व्याख्या गरेको छ । तर पनि ‘बाबुआमामध्ये कुनै एकको मृत्यु भएको अवस्थामा सङ्ख्या बढाउनकै लागि अनाथको व्याख्या गरेर बाल गृहले राख्ने गरेको पौडेलले बताउनुभयो ।’
उहाँले दीर्घकालीन भन्दा क्षणिक हेर्ने गरिएको र गरिबीको फाइदा उठाइएको बताउनुभयो । दाताले आफ्नो स्वार्थपूर्तिका लागि रकम दिने गर्दछन् । अधिकांशले तीनै दाताको रकम ल्याएर उनीहरुले भनेबमोजिम धर्मको बारेमा अध्ययन गराइएको पाइएको छ ।सरकारले सहयोग गर्न नसक्दा अनाथ र गरिब बालबालिकालाई धर्म प्रचारको माध्यम बन्न बाध्य पारिएको पाइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह बालबालिकालाई कुनै पनि धर्मको जबरजस्ती अध्ययन गराउन नपाइने बताउनुभयो । जबरजस्ती धर्म परिवर्तन गराउनु कानुनले दण्डनीय मानेको छ ।