दिपक बोहरा
दाङ ९ बैशाख । हिरादेवी खत्री संग जग्गा धनि पूर्जा अहिले साथमै छ । उनले त्यो जग्गा ८ वर्ष पहिले किनेकी हुन । तर पूर्जा भएर मात्रै के गर्नु उनको जग्गाको मोठ श्रेष्तामा रातो मसिले केरिएको छ । खत्रीले आफ्नो जग्गा कसैलाई बेचेकी पनि छैनन् । तरपनि आज उनको जग्गा वारे अन्यौलता छाएको छ ।
यो सबै अन्यौंलता मालपोत कार्यालयका कर्मचारीको लापरवाहीले गर्दा उत्पन्न भएको हो । किनकी, उनको नाममो जग्गामा रातो मोसीले केरीएको छ । खत्री विहीवार मालपोत कार्यालय तुलसीपुर पुगेपछि मात्रै यो कुरा पत्ता लागेको हो । खत्री त्यहाँ जग्गा बेच्न भनि गएकी थिइन ।
तुलसीपुर उप–महानगरपालिका ४ निवासी खत्रीले लाहुरे चौर स्थित कित्ता नम्वर २०४५ र ८४.६६ क्षेत्रफल रहेको जग्गा ८ वर्ष पहिले किनेको बताइन । र अहिले पनि उक्त जग्गाको पूर्जा खत्रीकै नाममा छ । जग्गा पूर्जाको कागज हातमा भएपनि जग्गा किनबेच गर्न नमिल्ने भन्ने थाँहा पाएपछि खत्री अन्यौंलमा परेकी छन् ।
जग्गाको मोठ श्रेष्तामा पनि खत्रीकै नाम छ तर रातो कलमले केरमेट गरिएको छ । त्यसैले उनी मालपोत कार्यालय तुलसीपुर गएर तयारी थालिन । तर जग्गामा रातो मसिले केरमेट गरेको फेला पर्यो । ८ बर्ष अघि खनखन्ती रकम गनेर किनेको लाहुरेचौरको जग्गाको मोठ श्रेष्तामा कुनै कैफियत नजनाई रातो मसिले केरिएको हुँदा जग्गा तत्काल किनवेच गर्न नमिल्ने भयो । यो कुरा मालपोतका कर्मचारीले जानकारी दिएपछि उनले चित खाइन ।
एकजना कर्मचारीका अनुसार रातो मसिले केर्नुको अर्थ त्यो जग्गा उनको नाममा नरहकेको वा अरु कसैको नाममा छ भन्ने प्रमाण हो । अचम्मैको कुरा खत्रीले जग्गा कसैलाई बेचेकी पनि छैनन् । दृष्टि बन्धक पनि छैन । कुनै कारोवारो पनि भएको छैन् । ‘हेर्नुहोस लालपूर्जा यो मेरै नाममा छ तर मैले यो बेच्न पाउँदैन रे ? यो भन्दा उदेग लाग्दो कुरा अरु केही हुन्छ ।’ विहीवार मालपोत कार्यालयमा भेटिएकी खत्रीले भनिन् ‘ मालपोतका कर्मचारीको लापरवाहीले गर्दा भएको हो कि कुनै दलालले मेरो जग्गा लगेको हो त्यो न्याय निसाफ मैले पाउनुपर्छ ।’
यसअघि खत्रीले तीन महिना अघि मालपोत कार्यालय गएर बुझ्दा सम्म उनको जग्गाको अबस्था सही सलामत नै थियो । ‘ त्यतिबेला उनको जग्गा सुरक्षित थियो, अहिले आउँदा जग्गामा केरकार गरिएको छ भन्ने सुन्दा कस्को रिस उठ्दैन ?’ उनले जंगिदै प्रश्न गरिन । खत्रीको जग्गाको मोठ श्रेष्तामा रातो मसिले केरिएको पाईएपछि मालपोत कार्यालयले हकदावी गर्न आउने वारे सार्वजनिक सूचना समेत प्रकाशित गरिसकेको छ ।
मालपोत कार्यालयका कर्मचारीका अनुसार कुनैपनि व्यक्तिको जग्गा बेचिसकेपछि मात्रै उक्त लालपुर्जा र मोठ श्रेष्ता दुबैमा कैफियत लेखेर रातो मसिले केरिन्छ र किन्ने मान्छेको नाममा नामसारी गरिन्छ । तर उनको मोठ श्रेष्तामा रातो मसिले मात्रै केरिएको छ । कुनै कैफियत लेखिएको छैन र लालपुर्जामा केरिएको छैन् । यसरी खत्रीको जग्गामा मोठ श्रेष्तामा रातो मसिले केर्नु मालपोतका कर्मचारीको लापरवाहीको पराकाष्टा भएको त्यहाँ उपस्थित खत्रीका आफन्तले गुनासो गरेका थिए ।
मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश खड्का पनि कर्मचारीको कमजोरीले गर्दा यस्तो भएको स्वीकार गर्छन । उनले थपे ‘ जग्गा दर्ता भएको दिन लेन देन गर्दा एउटामा केर्नु पर्नेमा कर्मचारीले भूलवस अर्कोमा केरेका हुनसक्छन्।’ त्यसैले त्यसको कानुनी प्रक्रिया मिलाउनलाई ३५ दिने सार्वजनिक सुचना जारी गरेको प्रमुख खड्काले बताए । मालपोतको सानो लापरबाहीले जग्गा किन्ने र बेच्न दुबैले अनावश्यक झन्झट ब्यहोर्नु परेको छ ।
यसअघि पनि मालपोत कार्यालय तुलसीपुरका कर्मचारीहरुको लापरबाहीकै कारण एउटै जग्गा दुई ठाँउबाट रोक्का भएको पाइएको थियो । फुलवारी १ की जानकी कार्कीको नाममा दर्ता श्रेष्ता रहेको जग्गा यसअघि डवल रोक्का भएको पाइएको थियो । कार्कीले कृषि बिकास कार्यालय तुलसीपुरबाट ऋण लिएकी थिईन् । तर आश्चर्य जनक रुपले उनको जग्गा कृषि बिकास विकास वैंक र लालि गुराँस सहकारी संस्थाको नाममा रोक्का भएको पाइएको थियो । यो आँफैमा मालपोत भित्र कति कमिकमजोरी भइरहेको छ भन्ने प्रमाण र नमुनाहरु हुन ।
मालपोतका कर्मचारीका कमजोरी कै कारण कार्कीले अनावश्यक रुपमा ठूलो कानुनी झण्झट ब्यहोर्नु परेको थियो । लालि गुराँस सहकारीबाट जग्गा रोकुवा हुनेगरि कुनै कारोवारो नभएको भन्ने सिफारिस लिएपछि मात्रै कार्कीले त्यो लफडा बाट मुक्ति पाएकी थिइन । मालपोत कार्यालयहरुमा कामको ढिलासुस्ती, भू–माफियाहरुको चलखेल हुने गरेको गुनासो नौलो हैन । सरकारी कार्यालय मध्ये सबै भन्दा बढी भ्रष्टाचार हुने कार्यालय मालपोत कार्यालय रहेको अख्तियार दुरुपायोग अनुसन्धान आयोगले केही समय पहिले मात्रै सार्वजनिक गरेको थियो ।
