काठमाडौ २४ चैत । मिति नजिकिँदै गए पनि मधेस केन्द्रित दलको विरोधका कारण निर्वाचन आयोगले २ नम्बर प्रदेशमा अझै मतदान केन्द्र तोक्न नसक्दा तोकिएकै मितिमा निवार्चन सम्पन्न गर्न बाधा उत्पन्न भएको छ । २ नम्बर प्रदेशसहित सबै क्षेत्रको मतदाता नामावलीले अन्तिम रूप पाई मतदाता परिचयपत्र छपाइको काम अघि बढिरहे पनि मतदान केन्द्र तोक्न नसक्दा आयोग अप्ठ्यारोमा परेको छ ।

Untitled-1 copy‘२ नम्बर प्रदेशमा मतदान केन्द्र तोकिएका छैनन्’, प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले बुधवार अन्नपूर्णसँग भने, ‘२ नम्बर प्रदेशका विषयमा छलफलका क्रममा छौं । अन्य काम भने यथावत् भइरहेका छन् ।’ मधेसी मोर्चाका कार्यकर्ताले २ नम्बर प्रदेशमा निर्वाचनको विरोध गर्दै निर्वाचनका काममा अवरोध गरिरहेकाले मतदान केन्द्र तोक्न गाह्रो भएको आयोगका पदाधिकारी बताउँछन् । ‘जतिसक्दो चाँडो मतदान केन्द्र २ नम्बर प्रदेशमा तोक्नुपर्ने अवस्था छ’, आयुक्त नरेन्द्र दाहालले भने, ‘त्यहाँ पनि मतदान केन्द्र तोकियो भने आयोगको काम अघि बढाउन सहज हुन्छ ।’

प्रमुख आयुक्त यादवको नेतृत्वको आयोग टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पटकपटक भेट गरी २ नम्बर प्रदेशमा निर्वाचनका लागि राजनीतिक र सुरक्षाको वातावरण बनाउन आग्रह गरिसकेको छ । ‘सुरक्षा दिने काम सरकारको हो, हामीले प्रधानमन्त्रीसँग २ नम्बर प्रदेशमा निर्वाचन गतिविधि सञ्चालन गर्न भइरहेको अप्ठ्यारोबारे जानकारी गराएका छौं’, आयोगका अर्का एक आयुक्तले भने ।

झण्डै २१ हजार मतदान केन्द्रको अनुमान गरेको आयोगले २ नम्बर प्रदेशमा मतदान केन्द्र तोक्न नसक्दा यकिन तथ्यांक बताउन सकेको छैन । आयोगले देशैभर ७५ जना मुख्य निर्वाचन अधिकृत र ६ सय ६९ जना मतदान अधिकृत तोकिसकेको छ । अन्नपूर्ण पोष्टमा खबर छ । उनीहरूका लागि चैत २८ र २९ गते तालिम दिएर गाउँपालिका र नगरपालिकामा पठाउने तयारी गरे पनि २ नम्बर प्रदेशमा केन्द्र नतोकिँदा मतदान अधिकृतलाई कहाँ गएर काम गर्ने भन्ने अप्ठ्यारो आउने आयोगका अधिकारी बताउँछन् । ‘२ नम्बर प्रदेशको राजनीतिक विषय छिटो समाधान होस् भन्ने पक्षमा आयोग छ’, आयोगका एक अधिकारीले भने ।