शरद रेग्मी
तुलसीपुर (दाङ), २३ चैत । नेपाल नेत्रज्योति संघ दाङ राप्ती आँखा अस्पताल रक्षाचौरको ओपिडी भवन निर्माण हुने भएको छ । अस्पताल परिसरमा रहेको पुरानो ओपिडी भवनमा विरामीहरुको चाप बढेपछि अस्पतालले नयाँ ओपिडि भवनसहित नयाँ संरचनाको लागि गुरुयोजना बनाएर काम अगाडी बढाएको राप्ती आँखा अस्पताल रक्षाचौरका वरिष्ठ प्रशासकीय अधिकृत शम्सेर थापाले बताए ।
अस्पताल परिसरमा निर्माण हुन लागेको ओपिडी भवन निर्माणका लागि क्षेत्र विकाश कोषवाट सांसद वुद्धिराम भण्डारीको पहलबाट अस्पताललाई २० लाख रुपैया सहयोग भएसंगै भवन निर्माणको काम अगाडी बढाएको नेपाल नेत्रज्योति संघका सभापति कृष्णकुमार गिरीले जानकारी दिए ।
गुरुयोजनाअनुसार ओपिडी भवन निर्माणका लागि ५ करोड लागत लाग्ने भएको छ । पहिले ३०/४० जना विरामीहरुलाई मध्यनजर गरी दुई दशक पहिले निर्माण भएको ओपिडी भवन हाल आएर ४ सय विरामीहरुलाई सेवा दिनुपरेको र सेवा प्रवाहका कठिनाई देखिएपछि ओपिडी भवन निर्माण गर्न लागेको अस्पतालले जनाएको छ ।
यसैबीच सांसद भण्डारी सहितको एक टोलिले वुधवार अस्पतालमा पुगी ओपिडी भवन निर्माण स्थलगत अनुगमन गरेका छन् । सो क्रममा अस्पतालले निर्माण गर्न लागेको ओपिडी भवन र अस्पतालको गुरुयोजनाबारे छलफल भएको थियो भने अस्पतालमा वरिष्ठ प्रशासकिय अधिकृत थापाले दिर्घकालिन योजनाहरुकोवारमा त्यहाँ पुगेको टोलिलाई जानकारी गराएका थिए ।











