धनिराम शर्मा (ऋतुविचार)
जब कांक्रेविहारदेखि शान्तिगाँउ जेलबाङको यात्राको कार्यतालिका बन्यो, तब आत्मीय साथी गजेन्द्र बोहरासंग मिनि लुम्बिनी कांक्रेविहारबाट शान्तिको सन्देश लिएर हामी शान्तिगाँउ जेलबाङसम्मको यात्रामा निस्क्यौ, चैत्र १ मा दाङ नेपालगंज हुदै २ गते पर्यटन पत्रकार संघ सुर्खेत र ४ गते रुकुमको अधिवेशन सम्पन्न गर्ने केही औपचारिक कार्यक्रम थिए, सुर्खेत संघका साथीहरुको संयोजनमा कांक्रेविहारको अध्ययन अवलोकनपछि सन्देश लिएर हामी भेरी नदीको किनारै किनार सल्यान हुदै जाजरकोटको कुदुमा पुग्यौ,, कुदुलाई बिदाई गर्दै भेरी नदीको झोलङ्गे पुलसंगको अंकमालमा चौरजहारी पुग्यौ । चैत्र ३ गते भेरी नदीको किनारै किनार मुसिकोट पुग्यौ, यात्रामा भेरीको कन्चन जल समुद्र भेट्न दौडिरहेको थियो, भेरी जलाधारको मनोरम दुष्यलाई अबलोकन गर्दै थोत्रो बसमा हामी कोचिएका थियौ,बाटो निकै डरलाग्दो थियो, संभावनाका मनोविश्लेषण गर्दै करिब ६ घण्टापछि मुसिकोट पुग्यौ ।

चैत्र ४ गते गुरिल्ला पदमार्गको तेश्रो रुटको अन्तिम बिन्दु मुुसिकोटबाट हाम्रो यात्रा रुकुमकोट तर्फ हानियो, पश्चिम नेपालको उत्कृष्ट पदमार्ग हुन सक्ने संभावनालाई उजागर गर्न हाम्रो कलम र क्यामेराहरु धेरै वर्षदेखि क्रियाशिल छन्, आर्थिक समृद्धिको लागि निरन्तर हजारौ शब्द र हजार घण्टा दृष्य छाँयाकन गरेका हाम्रो क्यामेराले यस वर्ष पनि गुरिल्ला पदमार्गको प्रवद्र्धनमा राज्यको भूमिका खोज्दै दुरदराज पुगेको हो । यस क्षेत्र प्रकृति र संस्कृतिसंगै ऐतिहासिक राजनीतिक घटनाक्रमको उच्चतम स्थल हो,दश वर्षै द्वन्द्वले थिलो थिलो पारेको समाजको समृद्धिको सपना देखाउने र यसलाई विपनामा बदल्ने एउटा आधार हो,पर्या, सांस्कृतिक र युद्ध पर्यटनको उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्न सकिने संभावनालाई देश दुनियाँसम्म पुराउने शिलशिलामा नयाँ श्रृंखलामा हामी यता हानिएका हौ, खोजी तथा व्यवसायीक पत्रकारिताको सामाजिक उत्तरदायित्वले दुरदराजको संभावना कोट्याउने र राज्यलाई निगरानी गर्ने हाम्रो मुख्य ध्ययको अर्काे श्रृंखला गुरिल्लापदमार्गको स्थलगत न्यूज रिर्पाेटिङ नै थियो ।

IMG_5865चैत्र ५ गते २०५६ साल तिर तत्कालीन माओवादी छापामारद्वारा आक्रमण भएको स्थान रुकुमकोट पुग्यौ, रुकुमकोटको सुन्दर बस्ती, शान्त र सुन्दर कमल तालको मनोरम दृष्यलाई नयन र क्यामेरामा कैद गर्दै हाम्रो गन्तव्य काँक्री लुकुमतर्फ मोडियो । गुरिल्ला पदमार्गलाई फन्को मार्ने योजना मुताविक हामी मुसिकोट रुकुमकोट हुदै निस्किएका थियौ, तत्कालीन विद्रोही माओवादी छापामारद्वारा मुख्य फौजी कार्वाही भएका क्षेत्रलाई समेटेर सन २०१२ मा गुरिल्ला पदमार्गको रेखाँकन गरिएको हो, विशेष गरि वेनी आक्रमणको घटनालाई जोडेर छापामारहरुको सुरक्षित आश्रय स्थल, तालिम क्षेत्र र सुरक्षित बाटाहरु नै गुरिल्ला पदमार्ग नामले जोडिएको छ । वेनीदेखि निसिलढोर ढोरपाटन लुकुम, खबाङबगर,तकसेरा हुकाम मैकोट, लालपाटन, छिपखोाल र स्यार्पूलेक हुदै मुसिकोट पुगिन्छ भने कांक्रीबाट रुकुमकोट हुदै मुसिकोट र अर्काे लुकुम, महत, थबाङ, जलजला, सुकलबाङ र जेलबाङ हुदै सुलिचौरमा आएर टुंगिने गर्दछ,वेनीबाट आरम्भ हुने पदमार्ग तीन वटा रुटमा १४ दिन १९ दिन र २७ दिनको यात्रा गर्न सकिने छ,हाम्रो यसपटक दुइ रुटमा फन्को मार्ने तालिका थियो ।

मुसिकोटबाट घोर्खानी आइपुग्दा सिस्ने हिमालले हामीलाई सेता दाँत देखाएर स्वागत गरिरहेको थियो, पूर्वी रुकुमका मगर बस्तीका ताँतीहरु निकै सुन्दर देखिन्थे, समृद्ध भविष्यको कल्पनासंगै उनीहरुका दैनिकी चलिरहेका थिए, दशकयता रुकुमले गरेको विकास प्रगति र प्रकृतिको वैभवता निकै रहर लाग्दा देखिन्थे, जनार्दनको जिल्ला भएर पनि होला जता ततै बाटाहरु खोलिएका थिए, गाँउहरु माइक्रोमय भएका थिए,पहाड नै छेडेर पूर्व पश्चिम लम्किएको मध्यपहाडी लोकमार्गले नेपालीको भविष्यको दिशानिर्देश गर्दैथियो, गाडी खसे चोक्टो पनि नभेटिने जोखिमपूर्ण भीर पहरा काटेर मध्यपहाडी लोकमार्ग भेरी नदीलाई जिस्काउदै कमल दहसंग स्पर्श गरिरहेको थियो, हामी विकास, प्रकृति र संस्कृतिको संगम स्थलहरुको तन मन र क्यामेराले चुम्बन गरिरहेका थियौ, यात्रा कठिन थियो, तर सुन्दर सपनाका थोपाहरुले मनका अन्तरंगमा स्पर्श गरिरहेका थिए, गाँउ बस्तीमा अझै समस्या र अप्ठ्याराहरु देखिन्थे तर भौतिक जीवनहरु केही कठिन देखिएपनि भविष्यको सपना निकै बलवान देखिन्थे, सिस्नेको काखमा रहेका मनोरम बस्तीहरु डर लाग्दा पहाड र खोँचमा सुन्दर सपनाहरुसंग अंकमाल गरिरहेका थिए, विगतको कहाँली लाग्दो दिनलाई भुल्दै उनीहरु आगन्तुकहरुको न्यानो स्वागत गर्ने हतारमा थिए, ग्रामीण पर्यटन आधार होमस्टेको केही अभ्यास गदै गुरिल्ला पदमार्गलाई आर्थिक समृद्धिको आधार बन्न सकोस् भन्ने उनीहरुको चाहाना र कामनाहरु गुराँसले रंगिन बनेका भिमकाय पहाडमा ठोक्किरहेका थिए ।

Holeri, Rolpaचैत्र ५ गतेको करिब दिउसोको ३ बजीसकेको थियो, गाँउ गाँउमा चुनावी रन्कोका दृष्यहरु पनि खुबै देखिए, तेही माहोलमा माओवादीका पूर्व सैन्य कमाण्डर प्रतिक पनि भेटीए, उनी लगायत स्थानीयसंगको थोरै भलाकुसारीपछि हामी रुकुमकोटको मैदाने हुदै करिब २ घण्टाको अनवरत यात्राले बेलुका मोराबाङको सिसाघाराीमा रात भेटाउन पुग्यौ, सिसाघारीमा प्रतिक्षा दिदीको न्यानो स्वागतले रात बित्यो, दिदीसंग विदाई गर्दै हामी विहानै लुकुम हानियौ, संभावनाका दृष्यहरु कैद गर्दै करिब ५ घण्टाको पैदल यात्राले लुकुम पुगियो, लुकुम पुगेपछि स्थानीयको न्यानो स्वागतले हाम्रो छाति फुलेर चौडा भएको थियो, लुकुमका अगुवा रुजीधन घर्ती मगर , गमनबहादुर घर्ती लगायतका अगुवाहरुसंग पदमार्गको विषयमा संवाद ग¥यौ, वेनी आक्रमणको बेला पासाङ नेतृत्वको माओवादी छापामार लुकुममा ४ महिने सैन्य तालिम संचालन गरेका रहेछन् । फौजी कार्वाही र विकासको हिसाबले निकै महत्व राख्ने लुकुम मगर संस्कृतिको उद्गम थलो पनि रहेछ, करिब ३ सय घरधुरी रहेको लुकुममा होमस्टे संचालन गर्न सकिने स्थानीयहरुले सुनाए ।

चैत्र ६ गतेको करिब दिउसोको ४ बजिसकेको थियो, लुकुमबाट महत फर्कनु थियो, मौसम अत्यन्तै प्रतिकृल थियो,भूमे लेक, चौरी लेकहरु हिँउले छोपिएका थिए, चिसो अचाक्ली थियो, ट्रेकिङमा निस्किएका हामीसंग लजिष्टिक सामाग्री पर्याप्त पनि थिएनन्, तैपनि कठाँग्रीने चिसोसंग निहँु खोज्दै पानी– पानी महततिर पाइलो सोझियो, काँक्री फर्कदा करिब साढे सात भैसकेको थियो, प्रतिकुल मौसम अन्धार बन्दै गएको निर्मम रातमा महततिर पाइला चले, बाटो अप्ठ्यारो नभएपनि मौसम र समय धेरै घर्किसकेको थियो, मोबाइलको पिलपिले उज्यालोमा लठ्ठीको साहारले महत पुग्नु नै थियो, लठ्ठी र चाउचाउको भरमा करिब ९ बजे महत पुगियो, चिसो अनि भोकले लखतरान परेका हामीलाई महतमा बास खोज्न सजिलो थिएन, तैपनि करिब ३ बस्ती रहेको महत प्रहरी चौकीका इन्चार्ज मोहन नेपालीसंगको कुराकानीले ढ्याप्ली होटेलमा बासको निधो भयो, अनुनय विननयको प्रयासपछि रात गुजार्ने अलिखित सम्झौता भयो होटेल संचालक गंगा बुढासंग, अन्तमा कोच्चकाच्च गरेर भएपनि चिसो रात काट्ने मेसोमा गंगाजी पनि सहमत भईन् ।

IMG_5932चैत्र ७ मा महत थबाङको यात्रा थियो, अघिल्लो दिनको कडा हिडाईले थाकिएका हामी विहान अबेर उठेछौ, गुरिल्लापदमार्गको तेश्रो रुटको मध्यखण्डमा पर्ने महतमा वुद्धको मुर्ति स्थापना गरिएको रहेछ, युद्ध क्षेत्रमा बुद्धको ठूलो कदको मूर्ति गाँउको बीचमा स्थापना गरि युद्धको त्रासदीबाट शान्तिको सन्देश दिन प्रयास गरिएको स्थानीय अगुवा जोखनबहादुर पुनले सुनाए, शान्तिको सन्देश लिएर हामी ऐतिहासिक गाँउ थबाङ हानियौ, करिब ४ घण्टाको निरन्तर पैदलयात्राले करिब ४ बजेतिर ऐतिहासिक गाँउ थबाङ आइपुग्यौ, लाल झण्डाले सिंगारिएको थबाङ वास्तवमै क्रान्तिको किल्ला एनान जस्तै देखिएको थियो, भर्खरै सम्पन्न विप्लव माओवादी अधिवेशनको झल्को दिइरहेको थियो,करिब ५ सय घरधुरी कम्युनिज्म र कम्युनिटीले सिंगो बनेको थबाङको छाँयाकनमा जुट्यौ ।

चैत्र ८ गते विहानै स्थानीय अगुवा रेशमबहादुर शाहको सम्पर्कमा थबाङको दशक पछिको विकास र प्रगतिको विषयमा संवाद गरियो, स्थानीय अगुवा गिरिस पुन, अमित घर्ती र विराट झाँक्री लगायतका स्थानीयसंगको गहन संवादपछि हामी बेलुकी जनवादी विद्यालयको अध्ययन गर्दै राँचीबाङस्थित जनकम्यूनको जर्जर अवस्थाको अध्ययन गर्न हानियौ, कम्यूनमा अग्रज पत्रकार मौसम रोकाको आमा रामसरी रोका मात्र हुनुहुदो रहेछ, उहाँसंगको छोटो सम्वाद सकेर हामी रात्री बासको खोजीमा लाग्यौ, सौभाग्यले राँचीबाङमैे कर्मबहादुर पुन दाईको सम्पर्कमा ढीडो सिस्नो स्वादसंगै आथित्यताले रात बित्यो ।

Labang, Mahat, Rukumचैत्र ९ गते विहानै दाईको सहयोगमा हामी चालाबाङ आइपुग्यौ चालाबाङ युद्ध स्थल पनि हो, स्याउ बगैचाले चर्चित मानिने चालाबाङबाट हामी जलजलासंग स्पर्श गर्ने सपना लिएर उकालो लाग्यौ, संपूर्ण यात्राको सबै भन्दा कठिन र चुनौति पूर्ण तीन घण्टा लामो हिँउसंगको पौठेजोरी नै रह्रयो, बाटोको अलमलका कारण हामी गुरिल्लापदमार्गको मुल मार्गबाट छुट्टिएछौ, जसका कारण ३ घण्टाको उकालो र ३ घण्टा लामो हिँउसंगको लडाई लड्नु प¥यो, लजिष्टिक विहिन यात्रामा निस्किएका हामी जलजलाको भीर पखेरामा फसेपछि सबै भन्दा दुःख भोग्न पर्ने भयो, जब तीन घण्टाको उकालोपछि जलजलाको उत्तर पूर्वको नेटाबाट प्रवेश गर्ने गोरेटोमा पुग्यौ, त्यहीबाट हामीलाई चिसो भीर अन्कन्टार जंगलसंग जुध्न परेको थियो, प्रारम्भमा हिँउसंग खेल्न पाँउदा हामी निकै हौसिएका थियौ, साथी गजेन्द्रले फोटो सेशन गर्दै जिन्दगीमा हिँउसंग स्पर्श गर्न पाएको भन्दै अन्कन्टार डर लाग्दो चिसो भीर पखेरामा संगितमा गुन्गुनाउन थाल्नु भयो, त्यसमा पनि मैले पनि साथ दिए फोटो सेशनको बजार शुरु भयो, तर हाम्रो खुशी करिब एक घण्टा पनि नबित्दै त्रासदीमा बदलिदै जान थाल्यो ।

हिँउहिउैले ढाकिएको पहाडको शिरानबाट जलजला पुग्ने सानो गोरेटोबाट हामी प्रवेश गरेका रहेछौ, शुरुमा पृय लागेको गोरेटोमा मानव पाइला एक डोब त थियो, अरु धेरै पाइलाहरु जंगली जनावरको भेटिएका थिए, अत्यन्तै डरलाग्दो बाताबरण बन्दै गएको थियो, जलजलाको आसपासमा छिनछिनमै फेरिने मौसमको फेरबदल अनि हिमपातको संकेत घण्टौ काटेर नसकिने गोरेटोको हिँउमा हामीलाई परिशान हुदै गयो, सामान्य जुत्ता चप्पल अनि करिब दुइ फुट गहिरो हिँउको रास अन्कन्टार जंगलमा हामी सकि नसकि पाइलो बढायौ, पाँच मिनेट हिँउ काट्दा बिसाउन पर्ने हुदै गयो, खुट्टा हिँउले चाउरिन थाले सबै शरिर जम्ने जस्तो हुदै गयो, पीडाले आँखाका डिलमा आँसु आइपुगेका थिए, हाम्रो संवादको श्रृंखला बन्द जस्तै भएको थियो,पेटमा चाउचाउका धर्सा बाहेक अरु केही थिएन् , हिँउले चुसेर ज्यान लखतरान बन्दै गयो, पानी प्यासपछि हिँउले प्यास मेटाउदै गर्दा आधा बाटो आइपुग्दा हामीसंग डरको आँसु र आफन्तको याद बाहेक सबै हराउदै थिए , ट्रेकिङको यात्रामा सही सूचना र बन्दोबस्तको अभावको बाबजुद् हामीसंग संकट झेल्दै पाइलो बढाउनुको विकल्प थिएन्,हिँउ काट्दा चिप्लीए मृत्यूसंग अंगालो मार्नुको शिवाय अरु केही थिएन् हामीसंग भएको तागत र साहस कमजोर बन्दै थियो, तैपनि दक्षिण हेर्दा डर लाग्दो पहाड उत्तर हेर्दा सिस्ने,धवालागिरी निलगिरीहरुले फिस्स दाँत देखाइरहेका थिए, मनोरम हिमश्रृंखलाका ताँतीले मनमा केही सुन्दरताको सास प्रवाह गरिरहेको भान हुन्थ्यो तर कठिन र मृत्यू नजिकको भीर पहराको हिँउको थुप्रो कटाउनु हाम्रा लागि कालसंग निँहु खोजे जस्तै थियो ।

dhaniram- gurillaतीन घण्टाको हिँउसंगको पौठेजोरी पछि जलजलाको पूर्वीनेटामा पुग्यौ, अलिक न्यानो घाम लागेको रहेछ, तैपनि छिनभरमा बादलले ढाक्दा हामी चिसोले कठांग्रीदै जलजला क्षेत्रमा पुग्यौ, करिब ३५ सय मिटर उचाईमा पुगेर होला अक्सिजनको कमी भएको महशुस हुन थाल्यो, खाली पेट हाइ अल्टिच्युटका कारण शरिर थरथर काप्दै गयो, जलजलाबाट केही दुुष्य कैद गर्दै हामी धरमपानीको दृष्य कैद गर्न उकालो लाग्यौ,उत्तरतर्फ सिस्ने धवलागिरी हिमश्रृंखलाले हामीलाई सेता दाँत देखाएर जिस्काउदै थिए, चारैतिर घनाजंगलमा हिँउले ढपक्कै ढाकेको थियो, जलजलाको घाँसे मैदानमा केही हिँउ पग्लिसकेको थियो हिँउ छल्दै हामी धरमपानीतिर लाग्दै गयौ, उकालो लाग्दै गर्दा शरिर गल्दै थियो, धरमपानीको छेँडा काटेर हामी जान सक्ने झनै अवस्था थिएन त्यहाँ त झनै हिँउको थुप्रो थियो, जुन जिन्दगीका लागि अन्तिम विन्दु भएको हाम्रो निष्कर्ष थियो ।

कठिन यात्राको समिक्षा गर्दै हामी शान्तिगाँउ जेलबाङतिरको पदमार्गतर्फ लाग्यौ, पदमार्गको आसपासमा पनि हिँउ जमेको थियो, अन्कन्टार जंगल मानवरहित दुनियाँ तर प्रकृतिको अदभूत कला, भोक प्यास थकाइको बाढीको बीचमा हामी सुकलबाङतर्फ हानियौ, सुकलबाङको यात्रामा पनि हिँउले बाटो थुनेको थियो, जताततै हिँउको थुप्रोले हामीलाई त्रासदी दिदै थियो, साथी गजेन्द्रले सुकलबाङको यात्रा स्थगित गरि जलजला धरमशालामा रात कटाउने प्रस्ताव गर्नुभयो तर हामीसंग कुनै लजिष्टिक थिएन, न त खानेकुरा । जसले गर्दा जलजलाबाट बाहिरीनुको विकल्पै थिएन, साथीको आग्रहलाई जोरजबस्त सुकलबाङहुदै जेलबाङ पुग्न आग्रह गरे, केही क्षणमा हामी एक अर्कासंग बोल्न सक्ने अवस्थामा थिएनौ, तर मानवरहित दुनियाँमा एकले अर्काेको भरोसामा यात्रा पुरा गर्नु नै थियो, केही समयको निचोडपछि हामी फेरि हिँउको थुप्रोमै चिप्लेटी खेल्दै जलजलाबाट जेलबाङ हानियौ, पेटमा चाउचाउको धर्सा विलाइसकेको थियो, पानीको नाँउमा जलजलामा खनिएको कुण्डको पानी बाहेक हामीसंग केही थिएन् तैपनि लड्दै भिडदै शान्तिगाँउ पुग्नुको विकल्प थिएन।

IMG_5532भीर पहरा छेड्दै हामी करिब ४ घण्टाको लामो यात्राबाट सुकलबाङ पुग्यौ, सुकबाङ पुग्दा एक जना गोठाल्नी दिदी भेटिन् जुन जलजलाको यात्रामा भेटिएका पहिलो मानिस उनै थिईन्, उनीलाई देख्दा हामी भोक र प्यास बिर्सेर खुशीले रम्न थाल्यौ र करिब डेढ घण्टाको यात्रापछि जेलबाङ पुगियो, अन्कन्टार रात भीरैभीरको गोरेटो काट्दै ठूलो गाँउ पुग्यौ? करिब ९ बजे ठूलोगाँउ पुगियो, करिब ४ सय घरधुरी भएको शान्तिगाँउ जेलबाङमा युद्धको बेला रोल्पाको हान्निङको भिडन्तमा गोली लागेर घाइते हुनु भएकी सुकमाया बुढाको घरमा रात काटी अर्काे दिन दश गते दश वर्ष पछि बदलिएको शान्तिगाँउको छाँयाकन गरि हामी सुलिचौर झ¥यौ, त्यसै दिन सुलिचौरबाट दाङ झरियो, यसरी दश दिनको कार्यतालिकामा गुरिल्ला पदमार्गको फन्को मारियो ।

अन्तमा प्रकृति, संस्कृति र युद्ध सम्पदाले समृद्ध गुरिल्लापदमार्गको आसपासको क्षेत्रको विकास गर्न राज्यले पर्यटन पूर्वाधार, पर्यटन शिक्षाको क्षेत्रमा लगानी गर्न सके पर्यटनको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने हाम्रो यात्राको निष्कर्ष रहेको छ, प्रकृतिसंगको कठोर यात्रा होउन चाहे समुदायको न्यानो स्वागतले हामी जस्ता खोजी व्यवसायीक पत्रकारहरुलाई यस यात्राले थप ज्ञान उपलब्ध गराएको छ भन्ने हाम्रो बुझाइ हो ।

IMG_5644सामान्य जुत्ता चप्पलसंग दुइ फुट गहिरो हिँउको रास अन्कन्टार जंगलमा हामी सकि नसकि पाइलो बढायौ, पाँच मिनेट हिँउ काट्दा शरिर लखतरान हुदै गयो, खुट्टा हिँउले चाउरिन थाल, सबै शरिर जम्ला जस्तै हुदै गयो, पेटमा चाउचाउको धर्सा बाहेक अरु केही थिएन् , हिँउले चुसेर ज्यान लगलग काँपीरहेको थियो, प्यासले च्यापेपछि हिँउले प्यास मेटाउदै पाइला अघि बड्दै गए, करिब आधा बाटोमा आइपुग्दा हामीसंग डरको आँसु र आफन्तको याद भन्दा सिवाय केही थिएन् , ट्रेकिङको यात्रामा सही सूचना र बन्दोबस्तको अभावको बाबजुद् हामीसंग संकट झेल्दै पाइलो बढाउनुको विकल्प थिएन् । हिँउ काट्दा चिप्लीए मृत्यूसंग अंगालो मार्नुको शिवाय अरु केही थिएन् ।

गुरिल्ला पदमार्ग पश्चिम नेपालको उत्कृष्ट मार्ग बन्न सक्छ, यद्यपी राज्यले सही नीति र योजना लागु गर्न सके युद्धले थिलो थिलो भएका समुदायको जीवन सुधार गर्न गतिलो आधार बन्न सक्नेछ, तसर्थ गुरिल्ला पदमार्गको व्यवसायीकरण गर्न राज्यले लगानी गरि दीगो आर्थिक विकासको ढोका खोल्न अब ढीला गर्न हुदैन ।