भक्तपुर, १२ चैत । हाल नेपालमा ३४ हजार क्षयरोगीले मात्र औषधि सेवन गरिरहेका छन् । विश्व स्वास्थ्य सङ्गठनले नेपालमा ४३ हजार क्षयरोगी भएको अनुमान गरे गरिए पनि नौ हजार बिरामी अझै सम्पर्कमा नआएको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक शरच्चन्द्र वर्माले बताए ।
माइक्रो ब्याक्ट्रियम ट्युबरक्लोसिस नामक क्षयरोगको कीटाणु पत्ता लागेको दिनको सम्झनामा हरेक वर्ष मार्च २४ का दिन यो दिवस मनाउने गरिन्छ ।
स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले समयमै उपचार गरे सहज ढङ्गबाट निको हुने क्षयरोगलाई मानिसकै लापर्बाहीका कारण उपचार गर्न कठिन हुने जीवाणु विकसित हुँदै गएको बताए । नेपालबाटै क्षयरोग र यसको जीवाणु अन्त्य गर्न राष्ट्रिय अभियान सञ्चालन भइरहेको जानकारी पनि दिए । रसुवा– उपकरणको अभावले सहज रुपमा क्षयरोगका बिरामी पत्ता लगाउन समस्या परेको छ ।
निमित्त जिल्ला स्वास्थ्य प्रमुख इसा दाहालले स्थानीय अस्पतालमा खकार परीक्षण भए पनि रगतको परीक्षण गर्ने विशेष उपकरण नहुँदा रोगको अन्तिम निर्णण गरी क्षयरोगका बिरामीलाई छिटोभन्दा छिटो औषधि खुवाउन समस्या परेको बताए ।
जिल्लामा तीन महिलासमेत १२ क्षयरोगीले औषधि सेवन गरिरहेको बताइएको छ । दुई हप्तासम्म लगातार खोकी र ज्वरो आउने, खानाको रुचिमा कमी, तौल घट्दै जाने जस्ता लक्षण क्षयरोगको हुने भएकाले यस्ता सङ्केत देखा परेमा नजिकको स्वास्थ्यचौकी वा अस्पतालमा तुरुन्तै सम्पर्क राख्न सबै रसुवावासीलाई आग्रह गरिएको छ ।
क्षयरोगीको पहिचान गर्न यस वर्ष सीमावर्ती क्षेत्र टिमुरेमा खकार परीक्षण गरिने योजना रहेको क्षयरोग निवारण अधिकृत विष्णुप्रसाद जैसीले बताए । बागलुङ– जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा शुक्रबार आयोजित शिविरमा ७७ जना कैदीबन्दीको खकार जाँच गरिएको छ । तीमध्ये ७२ जनाको रगतमा मधुमेहसमेत जाँच गरिएको कार्यालयका क्षयकुष्ठ ‘सुपरभाइजर’ देवप्रकाश घिमिरेले जानकारी दिए ।
धौलागिरि अञ्चल अस्पतालका प्रमुख चिकित्सक सागर राजभण्डारीले समूहमा मानिस बस्ने ठाउँ क्षयरोगका लागि जोखिमयुक्त हुने हुँदा कारागारमा क्षयरोग परीक्षण शिविर राखिएको बताए ।
बुटवल–गुल्मी जिल्ला भार्सेकी झनीमाया दर्लामीले लुम्बिनी अञ्चल अस्पतालको डट्स क्लिनिकमा आवासीय रुपमै उपचार गर्न थालेको करिब दुई महिना भयो । उनले गुल्मी, तमघास र बुटवलका विभिन्न ठाउँ र उपचार गराए पनि रोग निको हुनुभन्दा झनै बल्झियो, रोगले झनै गलाउँदै लग्यो । अन्तमा बुटवल अञ्चल अस्पतालमा रहेको क्षयरोग क्लिनिकमा पुगेर जाँच गराउँदा उनलाई जटिल खालको एमडिआर क्षयरोग देखा प¥यो ।
रोग पत्ता लागेपछि उनलाई चिकित्सकले २४ महिना क्षयरोगको उपचार गर्नुपर्ने सल्लाह दिएपछि उनी बुटवल डट्स आवास गृहमा चिकित्सकको निगरानीमा बसेर नियमित औषधि सेवन गर्दै आएका छन्। दर्लामीले निक्कै चिन्तित भएर लुम्बिनी अञ्चल अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा विष्णुप्रसाद पौडेलसँग जिज्ञासा राखे, “शाक्तिशाली औषधिले समेत काम नगर्ने एमडिआर टिबी के साँच्चिनै निको हुन्छ त रु” जवाफमा डा पौडेलले भने, “नियमित र चिकित्सकको निगरानीमा नियमित औषधि सेवन र जाँच गरेमा केही लामो समय लागे पनि रोग निको हुन्छ ।”
बुटवलको डट्स क्लिनिकमा आर्घाखाँचीबाट उपचारार्थ आएर आवासीय रुपमै उपचार गराएका दिवाकर नेपाली यस्तै खालको जटिल क्षयरोग एक्सडिआर टिबीको उपचार गरेर निको भए । उनी २० महिना नियमित औषधि सेवन र नियमित जाँच गराएर अहिले पूर्ण रुपले निको भएर घर फर्कने तयारीमा छन् । नेपालीले भने, “सरकारले उपलब्ध गराएको सेवाले म जस्ता धेरै बिरामीलाई सुविधा भएको छ तर जिल्लामा पनि यो सेवा उपलब्ध हुने व्यवस्था गर्नुपर्छ ।” गोरखापत्रबाट











