काठमाडौँ, १० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहीबार १५ सदस्यीय टोलीसहित चीन भ्रमण जाँदैछन् । एक साता लामो चीन भ्रमणमा प्रधानमन्त्री ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्ने कार्यक्रम रहेको छ । तर, भ्रमणमा कुनै सन्धि–सम्झौतामा भने हस्ताक्षर हुनेछैन ।
पराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बुधबार पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्रीको चीन भ्रमणको कार्यक्रम सार्वजनिक गरेका छन् । चीनको हाइनान प्रान्तको बोआओ सहरमा आयोजना हुन लागेको फोरमको वार्षिक सम्मेलन उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल चीन जाँदै छन् ।
यस्ता छन् चीनमा प्रधानमन्त्रीको कार्यक्रम
चैत १० गते सुरु हुने बोआओ फोरमको सम्मेलन चैत १३ गतेसम्म सञ्चालन हुनेछ । त्यही कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड बिहीबार चीन जाने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमणदलमा पत्नी सीता दाहाल, पररराष्ट्र मन्त्री डा। प्रकाशशरण महत, परराष्ट्र सचिव शङ्करदास बैरागी तथा मन्त्रालयका उच्च अधिकारी छन् ।
बोआओमा रहँदा प्रधानमन्त्री दाहालले ११ गते चीनका उपप्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम छ । उनले चैत १२ गते बोआओ फोरमलाई सम्बोधन गर्ने छन् । बोआओ मञ्चको उद्घाटनलाई सम्बोधन गरेपछि त्यही दिन उनी बेइजिङका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।
बेइजिङमा प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले चैत १३ गते नेपाल–चीन सम्बन्ध विषयमा बेइजिङ फरेन स्टडिज युनिभर्सिटीमा सम्बोधन गर्ने कार्यक्रम छ । विद्वान्, शिक्षाविद्, व्यवसायी तथा विद्यार्थीलाई सम्बोधन गरेपछि उनले विश्वविद्यालय परिसरमा स्थापित नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ । सोही दिन उनले चिनियाँ व्यापारी समुदायलाई समेत सम्बोधनगर्ने छन् ।
बेइजिङपछि प्रधानमन्त्रीको टोली तिब्बत पुग्ने कार्यक्रम छ । तिब्बत सरकारका नेतासँग त्यहाँ भेट गर्ने र नेपाल र तिब्बतबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्रलाई थप क्रियाशील बनाउने विषयमा छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । प्रधानमन्त्रीको टोली चैत १६ गते ल्हासाबाट स्वदेश फर्कने कार्यक्रम छ ।
