धर्ना, २२ माघ । नेकपा एमाले धर्ना गाउँ पार्टी कमिटीको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भयो । गाउँ पार्टी कमिटीका उपाध्यक्ष बसन्ती महराको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो ।

umal-flag-e1424853493350कार्यक्रममा नेकपा एमालेले देशव्यापी रुपमा थालेको चार महिने अभियान र अवको केही दिनमा संचालन हुन थालेको तराई केन्द्रीत अभियानका बारेमा जानकारी दिइएको थियो । प्रशिक्षण कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काले समसामयिक राजनीतिक विषयका बारेमा प्रशिक्षण दिनुभएको थियो । खड्काले नेकपा एमालेले थालेको मेची महाकाली अभियानका बारेमा पनि जानकारी दिनुभएको थियो ।

सोही कार्यक्रममा प्रदेश नं. ५ का सदस्य रेवतिरमण शर्माले नेपाल कम्युनिष्ट पाटीको इतिहासका बारेमा, पूर्व जिल्ला अध्यक्ष लक्ष्मण आचार्यले लेनिनबादी संगठनात्मक पद्धतिका बारेमा र उप सचिव सुरामणि बेल्वासेले जनताको बहुदलिय जनवादको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
यसैगरी नेकपा एमाले राप्ती अञ्चल कमिटीका पूर्व सदस्य सीता न्यौपानेले नेपालमा महिलाको अवस्था र संघर्षका बारेमा, जिल्ला कमिटी सदस्य शरद अधिकारीले संचार र पार्टी पद्धतिका बारेमा, विवेक श्रेष्ठले युवा परिचालनका बारेमा, केशव न्यौपानेले लेखा व्यवस्थापनका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा जिल्ला कमिटी सदस्य गेहेन्द्र बस्नेत, पूर्व जिल्ला सदस्य देविराम परियार, धर्ना गाउँ पार्टी कमिटीका पूर्व अध्यक्ष भिमकान्त दाहाल, युवा संघ धर्नाका अध्यक्ष विवेक बुढाथोकी लगायतले बोल्नुभएको थियो । गाउँ कमिटीका सचिव पूर्णवहादुर डाँगीले संचालन गर्नुभएको कार्यक्रममा उप सचिव अमृत शर्माले स्वागत मन्तव्य व्यक्त गनुभएको थियो ।