पौष ५, काठमाडौं । नेपाल सरकारका वन तथा भूसंरक्षण मन्त्री शङ्कर भण्डारीले सरकार आयुर्वेदको विकास र जडीबुटीको संरक्षण गर्न विशेष तरिकाले लागि परिरहेको बताउनु भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित हिमालयन आयुर्वेद चिकित्सा महाविद्यालयको छैंटौं वार्षिक उत्सवमा प्रमुख अतिथिको सम्बोधनमा सो कुरा बताउनु भएको हो ।
अहिले आयुर्वेदको महत्त्व विश्वव्यापि रुपमा बढेर गएको र नेपालमा विश्वमै अन्यत्र नपाइने जडीबुटी पाइन्छ । हामीले आफूसँग भएका साधनस्रोतको विकास र सदुपयोग गर्न सकेनौ भने अझै पछि पछौं । तसर्थ स्वास्थ्यको क्षेत्रमा कुरा गर्नुपर्दा आयुर्वेदको विकास नेपालको लागि अपरिहार्य छ, मन्त्री भण्डारीले सम्बोधनका क्रममा भन्नु भयो ।
यहाँको जडीबुटीको महत्त्व अन्यत्रको जडीबुटीको भन्दा ठूलो छ, देशको विकास गर्न जडीबुटीको धेरैभन्दा धेरै सदुपयोग गर्नुछ । त्यसको लागि सरकारले गम्भीरताको साथमा मनन् गरिरहेको छ । संविधानको कार्यान्वयनमा कठिनाई परिरहेको हुनाले सो नगरी विकासका कामहरु अगाडि बढाउन चुनौति भइरहेको छ, मन्त्री भण्डारीको भनाई थियो । आफूले जिम्मेवारी सम्हालेको मन्त्रालय अन्तर्गत पर्ने जडीबुटीको संरक्षण तथा विकास एवं सदुपयोग गर्ने जिम्मेवारी आफ्नो रहेको र सोको लागि आफू प्रयत्नरतशील रहेको, आयुर्वेद एवं जडीबुटीको संरक्षण र विकासको लागि सरकार कटिबद्ध रहेको छ । सम्बन्धित क्षेत्रका जो कोहीले पनि आफूलाई उचित सरसल्लाह सुझाव र सहयोग गर्न समेत मन्त्री भण्डारीले आव्हान गर्नु गर्नुभयो ।
आयुर्वेद तर्फ एएचए अर्थात आयुर्वेद हेल्थ असिस्टेन लेभलको शिक्षा दिइरहेको सो हिमालयन आयुर्वेद मेडिकल कलेजले तीन ब्याजलाई निकाल्न सफल भइसकेको र अहिले चौथो ब्याजलाई अध्ययन गराइरहेको कार्यक्रममा जानकारी गराइएको थियो । नेपालको परम्परागत आयुर्वेदको संरक्षण गर्ने उद्देश्यले परम्परागत आयुर्वेद चिकित्सा कर्मी एवं एकाडेमिक आयुर्वेद चिकित्सकसमेतको संयुक्त समन्वयमा सञ्चालन भइरहेको सो कलेजको आयुर्वेदको अध्ययन अध्यापनको लागि जुनसुकै संघर्ष गर्न पनि तयार रही अर्जुनदृटिका साथमा लागि परिरहेको कलेजका प्रिन्सिपल एवं पूर्वस्वास्थ्य सहायकमन्त्री डा. रामचन्द्र अधिकारीले सञ्चारकर्मीसँग बताए ।
नीजिक्षेत्रबाट सञ्चालित शिक्षण संस्था मध्ये आयुर्वेद चिकित्सा अध्ययनको क्षेत्रमा राम्रो प्रतिष्ठा कमाइसकेको सो कलेजको भावी कार्य योजना के छ भन्ने सञ्चारकर्मीहरुको जिज्ञाशामा निकट भविष्यमै आयुर्वेद स्नातक अर्थात बि ए एम एस (ब्याचलर अफ आयुर्वेद मेडिकल सर्जरी) सञ्चालनको लागि प्रस्तावित गरिएको जानकारी कलेजका कार्यकारी प्रमुख अभय श्रीवास्तवले दिए ।
सो उत्सवलाई सिटिभिटीका प्रतिनिधि विमल ढकालले पनि सम्बोधन गरेका थिए । कार्यक्रमको अध्यक्षीय मन्तव्य दिँदै डा. रत्नकमल वैद्यले आयुर्वेदको क्षेत्रबाट असली रुपमा हिमालयको आयुर्वेदको सन्देश र शिक्षा आफूहरुले विश्वलाई दिन खोजिरहेको धारणा राखे । कार्यक्रममा पूर्व विद्यार्थीहरुलाई सम्मान एवं विदाई र नयाँ विद्यार्थीहरुलाई स्वागतसमेत गरिएको थियो ।
