अमेरिकामा राष्ट्रपतीय चुनाव नजिकिँदै जाँदा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टन र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा अत्यन्त निकट भएको छl
गत महिनासम्म पनि क्लिन्टनलाई चुनावी सर्वेक्षणले ट्रम्पभन्दा निकै अगाडि देखाएको थियो, तर चुनावको मुखमा आएर उक्त अग्रता ५ प्रतिशतभन्दा कममा खुम्चिएको छl नोभेम्बर ८ अर्थात् अबको ४ दिनमा अमेरिकामा राष्ट्रपतीय चुनाव हुँदैछl त्यसपछि अबको अमेरिकी राष्ट्रपति को हुने भन्ने फैसला हुनेछl
अन्तिम समयमा आएर ट्रम्पले चुनावी प्रतिस्पर्धामा गरेको प्रगतिले डेमोक्र्याटिक पार्टीका समर्थक चिन्तित भएका छन्l अझै पनि हिलारी नै प्रतिस्पर्धामा अगाडि रहेको सर्वेक्षणले देखाएकाले उनीहरु आशावादी भने छन्l
विभिन्न चुनावी सर्वेक्षणको विश्लेषणका आधारमा अमेरिकी सञ्चार संस्था सिएनएनको अनुमानअनुसार बिहीबारसम्म आइपुग्दा ट्रम्पभन्दा क्लिन्टन ४ प्रतिशतले अघि छन्l सिएनएनका अनुसार सम्पूर्ण मतको ४६ प्रतिशत क्लिन्टनको पक्षमा छ भने ट्रम्पको पक्षमा ४२ प्रतिशत मत देखिएको छl गत महिनासम्म पनि हिलारीले ट्रम्पलाई १० प्रतिशतभन्दा बढी मतले जित्ने सर्वेक्षणले देखाएको थियोl
गत साता अमेरिकाको एफबिआईले हिलारी विदेशमन्त्री हुँदा गोप्य सूचना लापरबाही ढंगले व्यक्तिगत सर्भरबाट आदानप्रदान गरेको सम्बन्धमा थप अनुसन्धान गर्ने सम्भावना रहेको सार्वजनिक गरेपछि हिलारीको चुनावी अभियानमा धक्का लागेको थियोl
सिएनएनले गरेको अन्दाज पछिल्लो समय गरिएका ५ वटा फोन सर्वेक्षणमा आधारित छl त्यसमध्ये सिबिएस/न्युयोर्क टाइम्सले गरेको सर्वेक्षणअनुसार क्लिन्टनले राष्ट्रव्यापी रूपमा ४५ प्रतिशत र ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्ने सम्भावना छl त्यस्तै एबिसी/वासिङ्टन पोस्टको सर्वेक्षणअनुसार क्लिन्टनले ४७ प्रतिशत र ट्रम्पले ४५ प्रातिशत मत प्राप्त गर्ने सम्भवना छl पछिल्लो सर्वेक्षणअनुसार हिलारीको २ प्रतिशतले मात्र अग्रता हासिल गरेकी छन्l
उक्त सर्वेक्षणले लिबरटेरियन पार्टी उम्मेदवार ग्यारी जोन्सन ४ प्रतिशत र ग्रिन पार्टी उम्मेदवार जिल स्टेनले तीन प्रतिशत मत प्राप्त गर्ने देखाएको छl
ट्रम्पले महिलाविरुद्ध आपत्तिजनक कुरा बोलेको टेप केही साताअघि सार्वजनिक भएपछि क्लिन्टनले प्रतिस्पर्धामा निकै फराकिलो अग्रता हासिल गरेकी थिइन्l त्यसपछि धेरै महिलाले आफूमाथि दुर्व्यवहार गरेको आरोप लागएका थिएl उक्त टेप र विभिन्न महिलाले लगाएको आरोपले ट्रम्प माथिको जनविश्वास घट्ने अपेक्षा गरिएको थियोl
अहिले एफबिआईका निर्देशक जेम्स कोमेले क्लिन्टनको इमेल प्रकरणमा थप अनुसन्धान गर्नुपर्ने सम्भावना रहेको पत्र अमेरिकी कंग्रेसलाई पठाएपछि त्यसले हिलारी क्लिन्टनको चुनावी अभियानमा धक्का पुगेको छ। बहुसंख्यक मतदाताको निर्णयलाई भने पछिल्लो घटनाक्रमले कुनै असर नपरेको सिबिएस/न्यूयोर्क टाइम्सको सर्वेक्षणले देखाएको छl
चुनावी प्रतिस्पर्धा तीव्र भएपछि क्लिन्टन र ट्रम्पले एकअर्कामाथिको आक्रमण पनि तीव्र बनाएका छनl ट्रम्पको व्यवहार र महिला तथा अल्पसंख्यकप्रतिको दृष्टिकोण निकृष्ट रहेकाले उनी राष्ट्रपति बन्न अनुपयुक्त रहेको क्लिन्टनको भनाइ छl अर्कातर्फ ट्रम्पले आफू राष्ट्रपति भए क्लिन्टनले इमेल सम्बन्धमा गरेको लापरबाहीलाई लिएर अनुसन्धान गर्ने र जेलसम्म हाल्ने धम्की दिएका छन्l





