biplab-1काठमाडौं, १९ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले काठमाडौंका लैनचारस्थित भारतीय राजदूतावासमा ज्ञापन पत्र बुझाउने भएको छ ।

मध्यान्ह १२ बजे रत्नपार्कस्थित शान्तिबाटिकामा जम्मा भएर नारावाजीसहित राजदूतावास पुगेर ज्ञापनपत्र बुझाइने उपत्यका इञ्चार्ज सन्तोष बुढा मगरले जानकारी दिनुभयो । ‘भारतको जम्मु कश्मिरमा मृत्यु भएका भारतीय गोरखा सैनिक अर्थात नेपाली नागरिक विमल तामाङको विषयमा ज्ञापनपत्र बुझाउन लागिएको हो’, उहाँले भन्नुभयो, ‘पहिला देखिनै कुरा उठ्दै आएको छ । गोरखा भर्ती केन्द्र अब रोक्नु पर्छ ।’

गत कात्तिक १५ गतेका दिन जम्मुकश्मिरको राजौरी—बालकोट—मेंढर नजिकको लाइन अफ कन्ट्रोलमा भारतीय सेनामा कार्यरत नेपालका विमल तामाङको भारत पाकिस्तानवीचको युद्धका क्रममा मृत्यु भएको थियो ।

विदेशी भूमिमा भारतीय विस्तारवादको सुरक्षा गर्ने क्रममा भएको विमलको मृत्युले सबै स्वाभीमानी नेपालीलाई दुखित तुल्याएको भन्दै विप्लव माओवादीले विरोधमा ज्ञापनपत्र बुझाउन लागेको हो ।

‘नेपालमा पहिलेदेखि नै गोर्खा भर्ति केन्द्रको खारेजीको माग गर्दै आन्दोलनहरु पनि नभएका होइनन्’, उपत्यका इञ्चार्ज बुढाले भन्नुभयो, ‘नेपाली जनताको विरोध रहँदारहँदै पनि भारतीय शासकहरूको दलाली गर्न पल्किएका, सत्ता टिकाउन र सत्तामा जानकालागि दलाली गरिरहेका नेपाली शासकले गोर्खा भर्ती केन्द्रलाई निरन्तर दिइरहेका छन् ।’

ज्ञापनपत्रमार्फत विप्लव माओवादीले अबआइन्दा गोर्खा भर्ती केन्द्र बन्द गर्न भारतीय राजदूतावासलाई दबाब दिनेछ ।