काठमाडौं, २ कार्तिक । नेपाली कांग्रेसका सांसद फर्मुल्ला मन्सुरले मधेसीहरुको माग सम्बोधन नगरे मुलुक टुक्रिन सक्ने चेतावनी दिएका छन्।

farmula-mansur-new-5805bd6af3e2c8-5805c1c1304206-12896256आज संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद मन्सुरले मधेसीहरुको माग सम्बोधन नगरे मुलुक पाकिस्तानबाट छुट्टिएर बंगलादेश बनेजस्तै हुने चेतावनी दिएका हुन्। ‘पाकिस्तानमा सुशासनको माग उठ्दा त्यसको सुनुवाइ हुन नसक्दा मुलुक टुक्रिएको स्मरण गराउँदै सांसद मन्सुरले भने,‘मधेसीहरुका माग सम्बोधन संविधान संशोधनमार्फत नभए नेपालपनि त्यस्तै बन्न सक्छ।’

उनले मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम समुदायले उठाएका माग तत्काल सम्बोधनका लागि प्रक्रिया अगाडि बढाउन समेत माग गरे। यस्तै संसद बैठकमा बोल्दै कांग्रेसकै सांसद राधेश्याम अधिकारीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद टाँस गर्न नदिनु सर्वोच्च अदालतको आदेशको अपहेलना भएको बताए।

उनले एक व्यक्तिका अगाडि मुलुक नतमस्तक बन्न नहुने बताए। उनले भने,‘एउटा व्यक्तिले मुलुकको कानुन मान्दिन भनेर बस्न सक्छ। तर राज्य नै नतमस्तक भएर बस्नु हुँदैन। यसलाई गम्भीररुपले लिनुपर्दछ।’