विरगञ्ज, ६ असोज । लामो समयदेखि बन्द रहेको हेटौडा कपडा उद्योग पुनः सञ्चालन हुने भएको छ । विगत १७ वर्षदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग सरकारले पुनः सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

5288f3d728ed67d4bc56630d2cb9f47eउद्योगमन्त्री नवीन्द्रराज जोशीले पहिलो चरणमा नेपाल औषधि लिमिटेड र दोस्रोमा हेटौंडा कपडा उद्योग सञ्चालनको कार्ययोजना बनाएका छन् । नेपाल प्रहरी, नेपाली सेना, निजामती, निजी क्षेत्रको सहभागितामा यो उद्योग सञ्चालनमा ल्याउने तयारी उद्योग मन्त्रालयले गरेको छ । मन्त्रालयले सरोकारवालासँग छलफल गरी सञ्चालन मोडालिटी बनाउन डा. पुष्कर बज्राचार्यको संयोजकत्वमा एउटा अध्ययन समितिसमेत गठन भएको छ ।

सञ्चालन मोडालिटीपछि सबै सरोकारवालालाई राखी पुनः छलफल हुनेछ । सुरुमा सरकार आफैंले व्यवस्थापन गर्ने र पछि सार्वजनिक निजी साझेदारी (पीपीपी) को अवधारणामा सञ्चालन गर्ने लक्ष्य सरकारको छ । सरकारले थप लगानी नगरी भएको सम्पत्तिलाई व्यवस्थित गर्ने र कुनै पनि हालतमा उद्योग सञ्चालनमा ल्याउने अठोट मन्त्री जोशीको छ ।

यसअघि नेपाली सेनाले उद्योग सञ्चालन गर्ने प्रस्ताव गरेको थियो । भएकै पूर्वाधार मर्मत सम्भार गरेर सञ्चालन गर्न सेनाले रक्षा मन्त्रालयमार्फत उद्योग मन्त्रालयमा प्रस्ताव पेस गरेको हो ।

विभिन्न कारणले ०५६ फागुनबाट बन्द यस उद्योगको वार्षिक २३ सय मेट्रिक टन धागो, २ करोड ५० लाख मिटर कपडा उत्पादन क्षमता थियो । २०६९ माघ १२ को मन्त्रिपरिषद् बैठकले हेटौंडा कारखानाको सम्पत्ति सेयर लगानीका रूपमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा गाभेको थियो ।