asthai teacherकाठमाडौं ९ भदौ ।  प्राविधिक तथा व्यावसायिक शिक्षामा आकर्षण बढ्ने अपेक्षासहित एसएलसीमा लेटरग्रेडिङ प्रणाली लागू गरिए पनि परिणाम उल्टो आएको छ ।

कमजोर ग्ेरडिङ भए पनि कक्षा ११ मा भर्ना पाएका विद्यार्थीले शिक्षाशास्त्रतर्फ भीड बढाएका थिए । अघिल्ला वर्षहरूमा शिक्षाशास्त्रमा जेनतेन एउटा कक्षा चलाउने शैक्षिक संस्थाहरूले अहिले धमाधम सेक्सन थपेका छन् । त्यति मात्र होइन, अघिल्ला वर्ष शिक्षाशास्त्रको कार्यक्रम सञ्चालन नगरेकाले पनि यसपालि सुरु गरेका छन् ।

यसअघिका वर्षहरूमा देशभरमा शिक्षाशास्त्र पढ्ने विद्यार्थीको संख्या धेरै भए पनि उपत्यकामा विद्यार्थी नपाएपछि शिक्षा र मानविकी पढाउने संस्था घट्दै गएका थिए । एकदमै कमजोर नतिजा भएकाहरूले समेत प्रवेश पाएपछि उपत्यकाका समेत शिक्षाशास्त्रमा भीड बढेको हो । ०७२ को एसएलसी परीक्षामा लेटरग्रेडिङ प्रणालीमा पहिलोपटक नतिजा निकालेको छ । कक्षा ११ मा भर्ना गर्ने आधार तय गर्दा पनि सबैभन्दा कमजोरले शिक्षाशास्त्र पढ्न सक्ने गरी बाटो खुला गरेको छ ।

उच्च माध्यमिक शिक्षा परिषद्को मापदण्डका कारण डी प्लस पनि नचाहिने मानविकीका विषयहरू पपुलेसन, सोसल, आरडीजस्ता विषयमा विद्यार्थी भर्ना हुने भएका छन् । गान्धी आदर्श माविमा अघिल्लो वर्ष एजुकेसन स्ट्रिममा कक्षा ११ मा २७ जना भर्ना भएकामा यो वर्ष सयभन्दा बढी पुगेका छन् । ‘पहिले एजुकेसनको एउटा सेक्सन हुन्थ्यो, अहिले दुईवटा सेक्सन भएको छ, विद्यार्थी बढिरहेका छन, सेक्सन थप्नुपर्ने अवस्था छ,’ माविका प्राचार्य गणेश चन्द भन्छन् ।

बानेश्वरको रत्नराज्य स्कुलको अवस्था पनि उस्तै छ । रत्नराज्य स्कुलकी प्राचार्य गीता खरेलले एजुकेसनमा सबैभन्दा धेरै चाप रहेको बताइन् । पहिले एजुकेसन र मानविकीमा एउटा सेक्सन र्पुयाउन गाह्रो पर्नेमा अहिले दोब्बरभन्दा बढी विद्यार्थी भएको उनले बताइन् । सो विद्यालयमा पनि अघिल्ला वर्षमा ३० जनाको हाराहारीमा विद्यार्थी हुने गरेकामा अहिले संख्या निकै वृद्धि भएको छ । प्राचार्य खरेल भन्छिन्, ‘आधाजति विद्यार्थी ११ मा भर्ना हुन पाउने मापदण्डका कारण अरूमा नपाएर शिक्षामा आएका छन् भने आधाजति यो विषय पढेर शिक्षा क्षेत्रमा लाग्न रुचि भएका पनि छन् ।’

उच्च माध्यमिक विद्यालय संघ नेपाल ९हिसान०का काठमाडौं अध्यक्ष रामहरि सिलवालले सोसल, इंग्लिस, म्याथ र नेपालीमा डी प्लस नहुनेहरू एजुकेसनमा भर्ना भएको बताउँछन् । म्यानेजमेन्टमा होटेल म्यानेजमेन्ट र मानविकीको आकर्षक विषय आमसञ्चारमा समेत म्याथमा डी प्लस चाहिने भएकाले धेरै शिक्षाशास्त्रमा भर्ना भएको उनको भनाइ छ । शिक्षाशास्त्रका विषय अध्ययनका लागि एसएलसीमा सबै अनिवार्य विषयमा डी प्लस नचाहिने भएकाले शिक्षाशास्त्र विद्यार्थीको बाध्यता बनेको छ ।

नेपालमा सबैभन्दा कमजोरले शिक्षाशास्त्र पढ्ने गरेका छन् । शिक्षा मन्त्रालयले नै सबैभन्दा कमजोरलाई शिक्षाशास्त्र पढ्ने बाटो देखाएको हो । तर, शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले सक्षम विद्यार्थी मात्र शिक्षक बन्ने तर्क गरे । ‘सक्षम व्यक्ति शिक्षक बन्नुपर्छ,’ लम्सालले भने, ‘कमजोरले शिक्षाशास्त्र पढ्न पाए पनि शिक्षक छनोटका लागि हुने परीक्षामा मेरिटमा अगाडि आउनेहरू मात्र शिक्षक हुन पाउँछन् । पढेका सबै शिक्षक हुादैनन् ।’

शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाले ‘एप्टिच्युट’ र ‘एबिलिटी’ टेस्ट गरेर मात्र शिक्षकमा प्रवेश गर्न दिनुपर्ने बताए । कोइरालाले कमजोर ग्रेडका धेरैले शिक्षाशास्त्र पढ्दा प्रणालीमै असर पर्ने बताए । अहिलेसम्म शिक्षाशास्त्र पढेकाको ठूलो समस्या नरहे पनि यसलाई नियन्त्रण नगरेमा समस्या आउन सक्ने उनको भनाइ छ । विदेशमा भने जुनसुकै संकाय अध्ययन गरे पनि पढाउने एप्टिच्युट भएपछि पढाउने तालिम लिन्छन् ।