काठमाडौं, ३१ साउन । मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले तराईरमधेसमा आन्दोलनका क्रममा ज्यान गुमाएका ६८ जनालाई सहिद घोषणा गर्नुपर्ने सूची उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको छ ।
गृह मन्त्रालयमा आइतबार भएको छलफलमा गठबन्धनले आफूहरुसँग आन्दोलनको क्रममा मारिएका प्रहरीसहित ६८ जनाको सूची रहेको र उनीहरुलाई सहिद घोषणा गर्नुपर्ने माग गरेको थियो ।
गृह मन्त्रालयले भने आफूहरुले पेस गरेकोभन्दा दुईरतीन जना कम व्यक्तिको सूची बैठकमा प्रस्तुत गरेको सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले जानकारी दिनुभयो ।
गृह मन्त्रालयले पर्सामा मारिएका भारतीय नागरिक आशिषकुमार राम, सप्तरीमा आन्दोलनका क्रममा भाग्दा करेन्ट लागेर मरेका शिवशङ्कर दास र गाडीको ठक्करबाट मरेका बालककृष्ण रायलगायत व्यक्तिको सूची राखेको छैन ।
छलफलमा सहिद घोषणासँगै आन्दोलनको क्रममा घाइते भएकालाई निःशुल्क उपचार खर्च, अपाङ्ग भएकालाई जीवन निर्वाह भत्ता, पक्राउ परेकालाई रिहा, मुद्दा फिर्ता र उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्नेलगायत विषय गठबन्धनले राखेको अध्यक्ष झाले जानकारी दिनभयो ।











