berojgariकाठमाडौँ, २८ साउन ।  ‘गरिबी उन्मूलनमा युवा प्रतिबद्धता, उत्पादन र उपभोगमा आत्मनिर्भरता’ नारासाथ शुक्रबार अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ ।   बेरोजगारी नेपाली युवाको सबभन्दा ठूलो समस्या हो ।  अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुसार नेपालमा पूर्ण बेरोजगारी दर १९।२ प्रतिशत र अर्ध बेरोजगारी दर २८।३ प्रतिशत छ ।

अर्ध बेरोजगारीमा रहेका ३६ प्रतिशत युवा शक्ति उत्पादन र सीपसँग जोडिन सकेका छैनन् ।  स्नातक युवा बेरोजगार २६।१ प्रतिशत छ ।  युवा महिलाको ३६ प्रतिशत घरायसी कामकाजमा सीमित बन्न पुगेका छन् भने कृषिमा ५०।५ प्रतिशत युवा संलग्न छन् ।

श्रम बजारमा बर्सेनी साढे पाँच लाख युवा थपिन्छन् र तीमध्ये साढे चार लाख रोजगारका लागि विदेशिन्छन् ।  श्रम तथा रोजगार मन्त्रालयका अनुसार वैदेशिक रोजगारमा जानेमध्ये ७४ प्रतिशत अदक्ष, २४ प्रतिशत अर्धदक्ष र दुई प्रतिशत दक्ष जनशक्ति छन् ।  स्वदेशमै अडिएका एक लाखमध्ये अधिकांश अदक्ष वा अर्धदक्ष छन् ।

युवा तथा खेलकुद मन्त्रालयका अनुसार विश्व युवा विकास सूचकाङ्कमा नेपाल १४५ औँ स्थानमा छ ।  नेपालमा १६ देखि ४० वर्ष उमेर समूहलाई युवाका रूपमा परिभाषित गरिएको छ र युवाको जनसङ्ख्या एक करोड छ लाख छ ।