बैतडी, साउन २७ ।
छात्रामा अज्ञात रोग देखिएपछि दार्चुलाको लटिनाथमा रहेको लटिनाथ उच्च माध्यमिक विद्यालयमा आज बिहीबारदेखि पठनपाठन नै बन्द गरिएको छ । विद्यालयमा कक्षा ८, ९ र १० अध्ययनरत छात्रा दिनहुँ एकाएका बेहोस हुन थालेपछि विद्यालय नै बन्द गरिएको हो ।school

विद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठकले आगामी सोमबारसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको एक अभिभावक दिनेश सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘आज पनि एक्कासि १० जना छात्रा बेहोस भएका थिए ।’

विद्यालयमा आउने बित्तिकै छात्रा बेहोस हुने र त्यसपछि चिच्याउने गरेको बताइएको छ । मङ्गलबारदेखि लगातार छात्रामा देखिएको समस्याका कारण बिहीबारसम्म ३० भन्दा बढी छात्रा बिरामी भएको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर सिंहले बताउनुभयो ।

बिरामी भएका छात्रा बेहोस हुने र त्यसपछि चिच्याउने गरेका छन् उहाँले भन्नुभयो ‘विद्यालयमा बिरामी भएका छात्रालाई अभिभावक बोलाएर उनीहरुको जिम्मा लगाइएको छ ।’ छात्रामा अनौठो रोग देखिएपछि विद्यालय नै बन्द गरिएको हो । यसरी छात्रा अनौठो रोगले बेहोस हुने समस्या देखिए पनि कारण भने पत्ता लाग्न सकेको छैन् । रासस