इन्द्रेणी संवाददाता
दाङ, २४ साउन । आदिवासी जनजातिहरु आफ्नो हक अधिकारका लागी आफै जागरुक हुनपर्ने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन । २२ औं विश्व आदिवासी दिवसको अवसरमा आज दाङको त्रिपुरमा आयोजित कार्यक्रमका सहभागी आदिवासी जनजातिका अगुवाहरुले यस्तो वताएका हुन ।
उनीहरुले आफुहरुको उत्थानका लागी सरकारी निकायवाट थालिएको प्रयास सार्थक वन्न नसकेको भन्दै त्यसमा राज्य जिम्मेवार वन्नुपर्ने वताएका हुन । साथै कार्यक्रमका सहभागीहरुले अहिलेको संविधानमा आदिवासी जनजातिहरुको हक अधिकार सुनिश्चित नभएको भन्दै संविधान संशोधनको माग समेत गरेका छन ।
त्रिपुरको सौंडीकुलावाट भेषभुषासहित ¥याली गरेका आदिवासी जनजातिहरुले नारायणपुरमा पुगेर छलफल कार्यक्रम गरेका हुन । नेपाल छन्त्याल संघ दाङ, जनजाति महाँसंघ समन्वय परिषद घोराही, समन्वय परिषद त्रिपुर, थारु र मगर समुदायको आ–आफ्नो भेषभुषासहितको ¥यालीले नारायणपुरमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ त्रिपुर नगर समन्वय समितिका उपाअध्यक्ष धु्रव बाँठा मगरको अध्यक्षता एवं जिल्ला विकास समिति अन्तर्गत आदिवासी जनजाति समन्य परिषदका उपाध्यक्ष तुलसी राना मगरको प्रमुख आतिथ्यता तथा नेपाल आदिवासी जनजाति महासंघ दाङका अध्यक्ष तिलवहादुर पुन र त्रिपुर नगरपालिकाका कार्यकारी अधिकृति कमानसिंह थापा मगरको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
सो अवसरमा उनीहरुले संस्कृति झल्काउने सांस्कृतिक प्रस्तुती राखेका थिए । नेपाल आदिवासी जनजाति महाँसंघ घोराही समन्वय परिषदका उपाध्यक्ष टेकमान वुढा मगरको स्वागतवाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव सुवास पुनले गर्नुभएको थियो ।।











