काठमाडौँ ।

नेपाल र बेलायतबीच दौत्य सम्बन्ध स्थापना भएको द्विशत वार्षिकीका सन्दर्भमा नेपाल तथा बेलायतभरि विविध कार्यक्रमको आयोजना भइरहेको बेला मङ्गलबार राजधानीमा बेलायत यात्रा गर्ने पहिलो नेपाली जङ्गबहादुर राणाको नियात्रा–कृति ‘जङ्गबहादुरको बेलाइत यात्रा’ र त्यस यात्राले पारेको प्रभावबारे बृहत् बहस गरिएको छ ।1

नेपाल प्रज्ञा–प्रतिष्ठान सामाजिक शास्त्र विभाग तथा नेपाली साहित्य विकास परिषद् युके (नेपाल च्याप्टर)को सहकार्यमा प्रज्ञाभवन, कमलादीमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. त्रिरत्न मानन्धरले ‘जङ्गबहादुरको बेलायत यात्रा नेपालको परराष्ट्र नीतिमा कोसेढुङ्गा सावित भएको’ दाबी गरे ।

‘इतिहास र साहित्य जुम्ल्याह विधा भएको’ उल्लेख गर्दै उनले जङ्गबहादुरको सफल कूटनीति र दूरदर्शिताको उच्च मूल्याङ्कन गर्नु पर्ने जिकिर गरे ।नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली राजनीति, समाज र साहित्यमा जङ्गबहादुर राणाको बेलायत यात्राले उल्लेख्य प्रभाव पारेको बताए । उनले भने, ‘जङ्गबहादुर र उनको बेलायत यात्राको प्रभावबारे विद्वानहरुबाट व्यक्त विचार–विमर्शबाट प्राप्त निचोडलाई प्रतिष्ठानले महत्वपूर्ण उपलब्धिका रुपमा लिएको छ ।’2कार्यक्रममा इतिहासकार ज्ञानमणि नेपालले ‘जङ्गबहादुरको बेलाइत यात्रा’ कृति र ‘त्यसले पारेको प्रभाव’ शीर्षक कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनको कार्यपत्रमाथि प्रा.डा. जयराज आचार्य, परराष्ट्रविद् डा. सुरेश चालिसे र इतिहासकार प्रा.डा. सुरेन्द्र केसीले टिप्पणी गरेका थिए । टिप्पणीकारहरुले जङ्गबहादुर राणा उपयुक्त समयमा सही निर्णय गर्नसक्ने खुबी भएका साहसी र चतुर राजनीतिज्ञ भएको उल्लेख गर्दै उनको बेलायत यात्राले नेपालको शिक्षा, सञ्चार, न्यायका साथै कूटनीतिक क्षेत्रमा महत्वपूर्ण प्रभाव परेको उल्लेख गरे ।

 

प्रतिष्ठानका सदस्य–सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले कार्यक्रम राजनीति, इतिहास र वाङ्मयसँग सम्बन्धित भएको हुनाले अत्यन्त महत्वपूर्ण भएको बताए । उनले भने, ‘नयाँ आर्थिक वर्षको पहिलो कार्यक्रम नै उपलब्धिमूलक रह्यो । यसबाट प्रतिष्ठान निकै उत्साहित भएको छ ।’नेपाली साहित्य विकास परिषद् युकेका अध्यक्ष सुरेशजंग शाह तथा नेपाल च्याप्टर अध्यक्ष इल्या भट्टराईले संस्थाका उद्देश्य र गतिविधिमाथि बोले भने महासचिव हरिशरण लामिछानेले कार्यक्रमको महत्वमाथि प्रकाश पारेका थिए । प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँला, उपकुलपति डा. विष्णुविभु घिमिरे, प्राज्ञपरिषद्, प्राज्ञसभा, आजीवन सदस्यहरु तथा विशिष्ट विज्ञ एवम् विद्वानहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमको सहजीकरण कवि सन्ध्या पहाडीले गरेकी थिइन् ।।