काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ । निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाउ घटाएको हो ।
निगम सञ्चालक समितिको हिजो बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँले घटाउने निर्णय गरेको छ ।
योसँगै पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल १९२ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १९६ रुपैयाँ तथा डिजेल र मट्टितेल १९४ रुपैयाँ तथा तेस्रो वर्ग काठमाण्डौ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल र मट्टितेलको भाउ १९५ रुपैयाँ कायम भएको छ ।
आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा १५ रुपैयाँ ९ पैसा, डिजेलमा २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धनमा २९ रुपैयाँ ४२ पैसा र ग्यासमा समेत मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो । त्यसैगरी खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर एक सय रुपैयाँ घटाइएको छ ।












