बाँके । बाँकेको नेपालगञ्जको कोरियनपुरमा आइतबार बिहान जलेको अवस्थामा मृत भेटिएकी युवतीको परिचय खुलेको छ । मृत भेटिएकी युवती २२ वर्षीया सिर्जना बुढा (गीता) रहेको प्रहरीले पुष्टि गरेको छ ।

पतिसँग सम्बन्धबिच्छेद गरेर बसेकी उनी केही वर्षदेखि स्थानीय युवा गोलु ढपालीसँग प्रेममा रहेको खुलेको छ । प्रेममा रहेपनि आपसी सम्बन्ध राम्रो नभएको वडाध्यक्ष तरुण बज्राचार्यले जानकारी दिएका छन् । उनीहरूको झगडा पहिले पनि वडासम्म आइपुगेको र मेलमिलाप हुने गरेको वडाध्यक्षले बताए । सिर्जनाको एक छोरी पनि छन् ।

वडाध्यक्ष बज्राचार्यका अनुसार वडामा मेलमिलाप गरेका उनीहरूबीच केही दिनपछि पुनः झगडा परेपछि सिर्जनाले प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले छलफलका लागि दुबैलाई बोलाएको थियो । त्यसपछि मिलेर बस्ने सर्तमा प्रहरी चौकीबाट फर्किएका थिए । तर, भोलिपल्ट अर्थात आइतवार विहान सिर्जना जलेको अवस्थामा भेटिएकी थिइन् ।

आरोपित पुरुष ढपालीकै घरनजिक उक्त घटना घटेको भए पनि उनीहरू त्यस घरमा नबसी अनेत्रै डेरा लिएर बस्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले आरोपित ढपालीका परिवारका केही सदस्यलाई पक्राउ गरिसकेको बताएको छ । तर ढपाली भने फरार छन् ।