काठमाडौं । गत २३ र २४ भदौको जेन–जी आन्दोलनमा क्षति भएको भौतिक संरचनाको पुनर्निर्माण गर्न ३६ अर्ब रुपैयाँ लाग्ने भएको छ । सार्वजनिक संरचनाको पुनर्निर्माण योजनासम्बन्धी प्रतिवेदनले आन्दोलनका क्रममा भएको क्षतिको विस्तृत मूल्यांकन प्रतिवेदनमा पुनर्निर्माणका लागि ३६ अर्ब ३० करोड २१ लाख लाग्ने उल्लेख छ ।
जलिसकेपछि जालीले छोपिएको सिंहदरबार ।
प्रतिवेदनअनुसार आन्दोलनका क्रममा ७४ पुरुष र तीन महिलासहित ७७ जनाको मृत्यु भएको छ । घाइतेको संख्या दुई हजार ४२९ जना छ । जेनजी आन्दोलनमा करिब साढे ८४ अर्ब मूल्यबराबर क्षति भएको प्रतिवेदन सरकारले तयार गरेको छ । आन्दोलनका क्रममा भएका भवनको पुनर्निर्माणरमर्मत र सवारीसाधन तथा अन्य भौतिक वस्तुहरूको खरिदरमर्मतका लागि ३६ अर्ब ३० करोड २१ लाख लाग्ने अनुमान प्रतिवेदनको छ ।
गत ५ असोजमा मन्त्रिपरिषद्ले जेन–जी आन्दोलनका क्रममा भएको क्षतिको मूल्यांकन र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न योजना आयोगका सचिवको संयोजकत्वमा सहरी विकास मन्त्रालयका सचिव, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव, राष्ट्रय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी र जेन–जी प्रतिनिधि सदस्य भएको समिति गठन गरेको थियो । समितिले संघ, प्रदेश, स्थानीय तह, सार्वजनिक संस्थान, निजी क्षेत्र र सामुदायिक संस्थाहरूको मानवीय, भौतिक तथा आर्थिक क्षतिको प्राथमिक तथ्यांक संकलन गरी समग्र क्षति मूल्यांकन र सोहीबमोजिम पुनर्निर्माण योजना तयार गरेको छ । आन्दोलनबाट भएको मानवीय क्षति, भवन तथा संरचनागत नोक्सानी, सवारीसाधन र अन्य भौतिक सम्पत्तिको क्षति, उत्पादन तथा सेवामा परेको असर, सरकारी तथा सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि तत्कालीन र तीनवर्षे योजनासहितको प्रतिवेदन तयार गरेर सरकारलाई बुझाएको छ ।
जेन–जी आन्दोलनमा भएको कुल भौतिक क्षतिको मूल्य ८४ अर्ब ४५ करोड ७७ लाख रहेको प्रतिवेदनमा उल्लेख छ । यो देशको कुल गार्हस्थ्य उत्पादनको तुलनामा १.३८ प्रतिशत र चालू आर्थिक वर्षको बजेटको ४.३० प्रतिशत हो आजको नयाँ पत्रिकामा खबर छ । आन्दोलनका क्रममा कुल दुई हजार १६८ संस्था तथा निकायले प्रत्यक्ष रूपमा क्षति व्यहोरेका छन् ।
दुई हजार १६८ संस्था तथा निकायमा क्षति पुगेको छ । दुई हजार ६७१ भवन क्षतिग्रस्त भएको प्रतिवदेनमा उल्लेख छ । भवनमा ३९ अर्ब ३१ करोड ७५ लाखको क्षति पुगेको छ । १२ हजार ६५९ सवारीसाधनमा क्षतिग्रस्त हुँदा तिनमा भएको क्षतिको मूल्य १२ अर्ब ९३ करोड ६१ लाख रुपैयाँ छ । अन्य भौतिक सम्पत्तिमा २० अर्ब ३६ करोड ४० लाख क्षति भएको छ । भवनमा ५२ र सवारीसाधनमा ५८ प्रतिशत क्षति पुगेको छ ।











