बाँके । शीतलहरबाट बाँकेमा जनजीवन कष्टकर बन्नेको छ । पुसको सुरुवातसँगै बढेको अत्यधिक चिसो र निरन्तरको शीतलहरका कारण सर्वसाधारणको दैनिकी अत्यन्तै कष्टकर बनेको हो ।
बाक्लो हुस्सु र कुहिलरोका कारण घाम नलागेकाले चिसोले विपन्न तथा मजदुरलाई बढी प्रभावित भएका छन् । त्यस्तै बालबालिका, बृद्धबृद्धाहरु पनि त्यतिकै प्रभावित भएका छन् । यस्तो परिस्थितिलाई ध्यानमा राख्दै स्थानीय तह र सुरक्षा निकायले प्रभावित क्षेत्रमा राहत सुरु गरेका छन् ।
बढ्दो चिसोबाट सर्वसाधारणलाई जोगाउन नेपाली सेनाको बज्रदल गण राँझाले जिल्लाका खजुरा, पुरैना, फूलटेक्रा र आलानगरलगायतका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्नका लागि दाउरा उपलब्ध गराएको छ । बज्रदल गणका गणपति प्रमुख सेनानी रामचन्द्र श्रेष्ठले मानवीय सेवाको उद्देश्यले प्रभावितका लागि दाउरा सहयोग गरिएको बताए ।
सेनासँगै स्थानीय तहले पनि दाउरा वितरणलाई तीव्रता दिएका छन् । सार्वजनिक स्थानमा आगो बाल्नका लागि ६४ चट्टा दाउरा मौज्दात रहेकोमा नरैनापुरले १० चट्टा तथा बैजनाथ र राप्तीसोनारीले दुई-दुई चट्टा दाउरा वितरण गरिसकेका छन् । दाउरासँगै विभिन्न पालिकाले गरिब तथा विपन्न परिवारलक्षित कम्बल वितरण कार्यलाई पनि अगाडि बढाएका छन् ।
हालसम्म जिल्लाका विभिन्न पालिकामा एक हजार ८० थान कम्बल वितरण भइसकेको छ । जस अन्तर्गत जानकी गाउँपालिकामा सबैभन्दा धेरै आठ सय थान, राप्तीसोनारीमा १८० थान तथा कोहलपुर र खजुरामा ५०/५० थान कम्बल वितरण गरिएको छ । बैजनाथ गाउँपालिकाले पनि कम्बल वितरण प्रक्रिया सुरु गरिसकेको छ भने जिल्लाभर अझै एक हजार ७८० थान कम्बल मौज्दात अवस्थामा राखेको छ ।
जिल्ला विपत् व्यवस्थापन समिति बाँकेले चिसो तथा शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गर्दै सोही अनुसार काम गरिरहेको जनाएको छ । समितिको प्रक्षेपण अनुसार यस वर्ष बाँकेमा ३६ हजार घरपरिवारका करिब एक लाख ७६ हजार मानिस चिसो र शीतलहरबाट प्रभावित हुने पूर्वनुमान गरिएको छ ।











