काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थान भन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ।

शनिबार बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भु-भागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ।

कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। शनिबार राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।