रोल्पा । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी गएको सोमवारदेखि सम्पर्कविहीन भएका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर, सहायक प्रशासन पाँचौं हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कडेल, सव–इन्जिनियर निशा आचार्य र चन्द्र प्रकाश ओलीका साथै अरु कर्मचारी शिव कुमार वली र प्रदीप केसी सम्पर्कविहीन भएको थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगर अध्यक्ष मगरले जानकारी दिएका छन् ।

गाउँपालिकामा रातिको समयमा नेपाल टेलिकमको नेटवर्कमा समस्या हुने भएकाले सोमवार राति प्रमुख प्रशासकीय अधिकृत घर्ती मगरले कार्यालयको भुक्तानी गर्न ओपीटी कोटको सहजताका लागि रुकुम पूर्वमा गई कामकाज गर्ने निर्णय गरेका थिए । तर, त्यहाँ गएका उनीहरू अहिलेसम्म सम्पर्कमा नआएको र खोजतलास गर्दासमेत नभेटिएको गाउँपालिकाका अध्यक्ष बुढा मगर बताएका छन् ।  कार्यालयले सम्र्पक गर्न खोज्दा उनीहरु सबैको मोवाइल अफ रहेको बताएको छ ।

गाउँपालिकाले विज्ञप्ति निकालेर कसैसँग जानकारी भए खबर गरिदिन समेत आग्रह गरेको छ । कर्मचारीहरु सम्पर्कविहीन हुँदा कार्यालयको कामकाजमा समेत समस्या भएको गाउँपालिकाले बताएको छ ।