दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धि र विकासलाई केन्द्रमा राखेर सरकारले ल्याएको नीति तथा कार्यक्रमको जगमा उभिएर बजेट निर्माण गरिने बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजना तथा दायित्व अभियानको समन्वयमा सोमवार राप्ती उपत्यका देउखुरीमा आयोजित शासकीय सुधार, आर्थिक विकास र युवा उद्यमशीलता सम्बन्धी नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले वर्तमान नीति तथा कार्यक्रमले उठाएका प्राथमिकतालाई बजेटले सम्बोधन गर्ने बताएका हुन् ।
“सरकारले धेरै मेहनत गरेर नीति तथा कार्यक्रम ल्याएको छ । त्यसको जगमा नै उभिएर बजेट ल्याउछौं । अहिले मन्त्रालयगत तहमा यही दिशामा काम अघि बढेको छ भन्ने विश्वास लिएको छु”, मुख्यमन्त्री आचार्यले भने, “नीति तथा कार्यक्रम र बजेट एक अर्कासँग अन्तरसम्बन्धित हुन्छन् । एक अर्कालाई जोड्नेगरी काम अघि बढेका छन् । नीति तथा कार्यक्रमले बोलेको कुरालाई बजेटले सम्बोधन गर्नै पर्छ । सरकार गम्भीर भएर यसमा लागेको छ ।”











