काठमाडौं । हिजो मात्रै गृह मन्त्रालय सरुवा गरिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख भट्टराई तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

सहसचिव भट्टराई हिजो बेलुका गृह मन्त्रालयमा सरुवा गरिएको थियो । सरुवा भएको एक दिन नवित्दै उनलाई आज अख्तियारको टोलीले पक्राउ गरेको छ । पक्राउ गरी उनलाई टङ्गालमा रहेको कार्यालयमा लगेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा प्रमुख हुँदा मानव तस्करको गिरोहसँग साँठगाँठ रहेको केही प्रमाणहरू फेला परेपछि पक्राउ गरेको अख्तियार स्रोतले जनाएको छ ।

सहसचिव भट्टराईले नेपालबाट भिजिट भिसामा दुबईलगायतका देशमा जानेबाट रकम असुल्ने गरेको आरोपमा उजुरी परेपछि अख्तियारले विमानस्थलमा छापा मार्ने तयारी गरेको थियो । उक्त सूचना पाएपछि गृह मन्त्रालयले हिजो हतारहतार सहसचिव भट्टराईको सरुवा गरेको थियो ।