काठमाडौं । रुपन्देहीकी प्रकृति लम्साल मृत फेला परेको साढे दुई महिना नवित्तदै भारतको ओडिसा राज्यमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत एक अर्की नेपाली छात्रा मृत फेला परेकी छिन् । बिटेक प्रथम वर्षमा अध्ययनरत पर्साको वीरगन्जकी १९ वर्षीया प्रिसा साह विश्वविद्यालयको होस्टेलमा बिहीबार साँझ मृत भेटिएकी हुन् ।
साढे दुई महिना पहिले किटमै अध्ययनरत रुपन्देहीकी २० वर्षीया प्रकृति लम्साल मृत फेला परेको परेकी थिइन् । दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर सञ्जीव शर्मा दासले पनि विश्वविद्यालयको छात्रावासस्थित आफ्नै कोठामा प्रिसा मृत फेला परेको खबर प्राप्त भएको पुष्टि गरे । प्रिसाले आत्महत्या गरेको र ओडिसा प्रहरीले घटनाको अनुसन्धान थालेको जानकारी प्राप्त भए पनि विस्तृत कारण खुल्न नसकेको दासले बताए ।
भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार होस्टेल प्रशासनले हाजिर लिने क्रममा क्रममा बिहीबार साँझ साढे सात बजे उनी बस्ने १११ नम्बर कोठाको ढोका ढकढकाउँदा पनि खुलेन । त्यसपछि बलपूर्वक ढोका खोलेर प्रवेश गर्दा उनी झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । परिवारका सदस्य आएपछि मात्र पोस्टमार्टम गर्ने गरी भुवनेश्वर प्रहरीले शव सुरक्षित राखेको दूतावासलाई जानकारी दिएको छ ।











