कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायका धेरै बालबालिका अझै पनि विद्यालय बाहिर रहेको भन्दै अनिवार्य विद्यालय शिक्षामा सहभागी गराउनुपर्ने आवश्यकता औंल्याए ।
मायादेवी गाउँपालिका १, पकडी, कपिलवस्तुमा आयोजित अल मरकजुल इस्लामी वार्षिकोत्सव तथा विद्यार्थी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विद्यालय बाहिर रहेका मुस्लिम समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन समुदायका अगुवाहरूले सक्रिय भूमिका खेल्नुपर्ने बताए ।
‘धेरै बालबालिका अझै पनि विद्यालय शिक्षाबाट बञ्चित छन् । विशेष गरी छोरीहरूको विद्यालय जाने दर न्यून छ। छोरा छोरीलाई समान अवसर र शिक्षा दिनुपर्छ’, उनले भने ।
मुख्यमन्त्री आचार्यले उमेर नपुगी हुने विवाहको समस्या गम्भीर रूपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे। ‘२० वर्ष नपुग्दै विवाह गर्नु कानुनतः निषेध छ। तर सीमावर्ती क्षेत्रमा बाल विवाह रोक्न अझै पनि सकिएको छैन । यो समस्या समाधान गर्न समुदायमा जागरणको खाँचो छ’, उनले भने, ‘बाल विवाहले गम्भीर समस्या निम्त्याउछ । यसलाई सामान्य रुपमा लिन हुदैन ।’
उनले मुस्लिम समुदायभित्र रहेका सामाजिक समस्याहरू समाधान गर्न समुदायका अगुवाहरूले अग्रसरता लिनुपर्नेमा जोड दिए । ‘मौलाना साथीहरूले समुदायमा सचेतना फैलाउनु आवश्यक छ। समाज परिवर्तनका लागि तपाईंहरूको योगदान जरुरी छ’, अचार्यले भने ।











