काठमाडौं । अमेरिकी विदेशी सहायताको प्रमुख संस्था युएसएआइडीले विश्वभरमा रहेका आफ्ना कर्मचारीहरूलाई प्रशासनिक बिदा दिएको छ।
युएसएआइडीको भविष्यबारे चौतर्फी चर्चा भइरहँदा वेभसाइटमार्फत सूचना जारी गरेर विश्वभर रहेका आफ्ना कर्मचारीहरूलाई बिदा दिएको हो। यो वेभसाइट एक साता अघिसम्म बन्द थियो।
युएसएआइडीले विशेष रूपमा तोकिएको तथा नेतृत्वदायी भूमिकामा रहेर महत्त्वपूर्ण जिम्मेवारीमा सम्हालिरहेकाहरूको हकमा भने बिहीबारसम्म निर्णय गर्ने भनेको छ। बाँकी कर्मचारीहरूलाई बिदा दिने र उनीहरूसँगको करार सम्झौता रद्द गरिने पनि सूचनामा उल्लेख छ।
युएसएआइडीको कर्मचारी रही देशबाहिर काम गरिरहेका अमेरिकीहरूलाई ३० दिनभित्र अमेरिका फर्किए संस्थाले खर्च ब्यहोर्ने बताएको छ। तत्काल फर्कन नमिल्ने अवस्थामा रहेकाहरुबारे पनि संस्थाले बिचार गर्ने र अर्को सूचना जारी गर्ने युएसएआइडीले जनाएको छ।
सूचनामार्फत युएसएआइडीले विश्वभर काम गर्दै आएका आफ्ना कर्मचारीहरूलाई धन्यवाद पनि दिएको छ। अमेरिकामा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले जिम्मेवारी सम्हालेपछि युएसएआइडीको भविष्य अनिश्चित भनेको हो। ट्रम्प प्रशासनले यसअघि नै अमेरिकी विदेशी सहायता ९० दिनका लागि ‘फ्रिज’ (स्थगित) गरिसकेका छन्। युएसएआइडीलाई विदेश मन्त्रालयअन्तर्गत लैजाने र खर्च कटौती गर्ने ट्रम्पको योजना छ।
युएसएआइडी अमेरिकी विदेशी सहायता र विकास कार्यक्रमहरू सञ्चालन गर्ने स्वतन्त्र संस्था हो। विश्वभर यसका लगभग १०,००० कर्मचारी छन्। पूर्व राष्ट्रपति जो बाइडेनले युएसएआइडीका प्रमुखलाई राष्ट्रिय सुरक्षा परिषदमा राखेका थिए।
युएसएआइडी नेपालमा विगत ७० वर्षदेखि कार्यरत छ। यो संस्थाले सन् २०२२ मा नेपाललाई पाँच वर्षका लागि ६६ करोड अमेरिकी डलर (करिब ९१ अर्ब रुपैयाँ) सहायता दिने घोषणा गरेको थियो।











