बाँके । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि बाँकेको कोहलपुर नगरपालिकाले आगो ताप्ने व्यवस्था मिलाएको छ । केही दिनदेखि हुस्सु, कुहिरो र शीतलहरसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेपछि बुधवारदेखि नगरका विभिन्न स्थानमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाइएको हो ।

नगरपालिका मेयर पूर्ण आचार्यका अनुसार कोहलपुरको मुख्य चौराह, साझाचोक, हाइस्कुल, पिपरी, हवल्दारपुर, मदनचोक, कौशिलानगर, चपरगौरीलगायतका मानिसहरु बढी जमघट हुने मुख्य राजमार्ग क्षेत्रका चोकमा दाउरा वितरण गरिएको छ । जिल्ला वन पैदावर आपूर्ति समितिबाट ६ चट्टा दाउरा खरिद गरी इलाका प्रहरी कार्यालय कोहलपुरसँगको सहकार्यमा वितरण सुरु गरिएको हो ।

कोहलपुर नगरपालिकाले विशेषगरी गरिब, असहाय, वृद्धवृद्धा तथा बालबालिकालाई न्यानो बनाउन आगो ताप्ने व्यवस्था मिलाउन थालेको मेयर आचार्यले बताए । चिसो र शीतलहरले गरिब, असहाय, वृद्धवृद्धा, बालबालिका र मजदुरी गर्नेहरुले बढी कष्ट भएको छ ।