काठमडौं । विभिन्न पद रिक्त पालिकाको उपचुनावका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि बेलुका ५ बजेसम्म सम्बन्धित पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आजै बेलुका ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएका छन् । उपचुनावका लागि अस्ति शुक्रवार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र छ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।
उपचुनाव हुने सम्बन्धित पालिका तथा वडाको केन्द्र रहेको ठाउँमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको छ । भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, त्यसपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवम् निर्णय गरी पर्सि मङ्सिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
त्यसैरी मङ्सिर ५ गते बिहान ९ देखि दिउसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन् । दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका छ । मङ्सिर १६ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।











