इन्द्रेणी संवाददाता
घोराही, १२ पुस । राजनीतिज्ञ तथा साहित्यकार देवि पोख्रेल र उहाँकी जीवन संगिनी अम्विका पोखरेलले प्रगतिशील लेखक संघ नेपाल दाङ शाखामा पुरस्कार स्थापना गर्नुभएको छ ।
प्रगतिशील लेखक संघ नेपाल दाङका अध्यक्ष भुवन देवकोटा (शरद) र केन्द्रिय सल्लाहकार पद्मप्रसाद शर्मा र प्रलेस दाङका पूर्व अध्यक्ष शरद अधिकारीलाई पोखरेल परिवारले पुरस्कारको अक्षयकोषका लागि एक लाख रुपैयाको चेक हस्तान्तरण गरेको थियो । पोख्रेल बंशजका अग्रज सुदय र बुवा केशव र आमा तिलोत्तमाको संझनामा स्थापना गरिएको पुरस्कारको नाम सुदय–केशव–तिलोत्तमा प्रतिभा पुरस्कार राखिएको छ ।
दाङ जिल्लामा रहेर साहित्य, इतिहास, खोजी लेखनलाई अघि बढाएकाहरुलाई पुरस्कार प्रदान गर्न सकिने भन्दै संस्थापक देवि पोखरेलले पुरस्कार हरेक बर्ष प्रदान गर्न आग्रह गर्नुभयो । उहाँले आफू पनि लामो समयदेखि प्रगतिशील साहित्यमा जोडिएको भन्दै पुरस्कार स्थापनाले यस क्षेत्रमा कलम चलाउनेहरुलाई उत्साहित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रलेसका केन्द्रिय सल्लाहकार पद्मप्रसाद शर्माले कुनै पनि संस्थामा पुरस्कार स्थापना गरियो भने संस्था दिगो हुने भन्दै पोखरेल परिवारलाई धन्यवाद दिनुभयो । यस्तै दाङ शाखा अध्यक्ष देवकोटाले प्रलेस दाङमा यो समेत गरेर आठवटा पुरस्कारका लागि अक्षयकोष स्थापना भएको बताउनुभयो । उहाँले प्रलेसले हरेक बर्ष पुस ३ गतेका दिन स्थापना दिवस मनाउने र स्थापना दिवसका दिन पुरस्कार वितरण गर्ने जानकारी दिनुभयो ।











