काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका पूर्वगृहमन्त्री बालकृष्ण खाण धरौटीमा छुटेका छन् ।

उच्च अदालत, पाटनले धरौटीमा छोड्ने आदेश दिएपछि आज शुक्रबार धरौटी बुझाएका खाण छुटेका हुन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि तारेखमा राखेपछि उनी कारागारबाट आजै मुक्त भएका हुन् । विभागले खाणलाई १५ लाख धरौटी लिएर छोडेको थियो । त्यस लगत्तै कारागारबाट खटिएको प्रहरीले खाणलाई अख्तियारको जिम्मा लगाएको थियो । अख्तियारले भने साधारण तारेखमा रिहा गर्‍यो ।

खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख धरौटीमा छोड्ने आदेश दिएको थियो । उक्त आदेशपछि खाण धरौटी बुझाउन काठमाडौं जिल्ला अदालतमा पुगेका थिए । त्यहाँ धरौटी बुझाएपछि उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा पनि अनुसन्धान भइरहेकाले विभागले बयान लिएको थियो । बयान पछि विभागले १५ लाख रुपैयाँ धरौटी लिएर छोड्ने निर्णय गरेको थियो । शरणार्थी प्रकरणमा राज्यविरुद्धको अपराध, संगठित अपराध, किर्ते र ठगी चार कसूरमा जिल्ला अदालत काठमाडौंमा खाणसहितका आरोपितविरुद्ध जेठ १० गते मुद्दा दायर भएको थियो । खाणलाई २०८० वैशाख २७ मा प्रहरीले पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको थियो ।