बाँके । नेपालगञ्ज र खजुराका सबै विद्यालय चार दिनका लागि बन्द गरिएको छ। बालबालिकामा आँखा पाक्ने रोग ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण फैलिएपछि विद्यालय बन्द गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाले उपमहानगरका अधिकांश बालबालिकामा आँखा पाक्ने सङ्क्रमण देखिएकोले त्यसलाई थप फैलिनबाट रोक्न नेपालगञ्जका निजी र सामुदायिक सबै विद्यालय चार दिन बन्द गर्ने निर्णय गरिएको बताए ।

बालबालिकामा आँखा पाक्ने सङ्क्रमण वृद्धि हुँदै गएकोले विद्यालयबाट नै अन्य बालबालिकामा पनि सर्ने सम्भावना रहेकोले बुधवारदेखि शुक्रबारसम्म बिदा दिने र शनिबार बिदा नै परेकोले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको थापाले जानकारी दिए ।

एनिडो भाइरसको सङ्क्रमणका कारण बालबालिकामा आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकोले खजुरा गाउँपालिकाको शिक्षा शाखाले पनि बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।