दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले स्वास्थ्यजन्य फोहरमैला ब्यवस्थापन गरेर मासिक रु ४० हजार आम्दानी गरिरहेको छ ।
उचित ब्यवस्थापन हुन नसके मानव स्वास्थ्यमा गम्भिर असर पार्ने स्वास्थ्यजन्य फोहरमैला ब्यवस्थापन गरेर प्रतिष्ठानले मासिक ३५ देखि ४० हजार रुपैयासम्म आम्दानी गरिहेको प्रतिष्ठानका डेपुटी रजिष्ट्रार झन्कार लामिछानेले जानकारी दिए । प्रतिष्ठानले सो वाट प्राप्त आम्दानीले फोहोरमैला व्यबस्थापनमा खर्च गर्ने गरेको छ ।
देशका धेरै स्वास्थ्य संस्थाले स्वास्थ्यजन्य फोहरमैला ब्यवस्थापनमा गम्भिर नभइरहेको अवस्थामा पछिल्लो डेढ बर्षदेखि प्रतिष्ठानले छुट्टै इकाई नै स्थापना गरी आत्याधुनिक प्रशोधनगर्ने उपकरण मार्फत फोहरलाई अलग अलग गरी निर्मलीकरण गर्ने काम गरिहेको र उक्त फोहरबाट आम्दानी समेत भइरहेको लामिछानेले जानकारी दिए ।
स्वास्थ्यजन्य फोहरमैला ब्यवस्थापनमा भइरहेको प्रगतिबारे जानकारी दिन आज बुधवार प्रतिष्ठानमा आयोजित कार्यक्रममा विद्यमान स्वास्थ्य मापदण्डलाई पालना गरेर गुणस्तरिय सेवा दिइरहेको जानकारी गराइएको थियो । सेवा प्रवाहका क्रममा उत्पादन हुने फोहर संकलन गरी त्यसको उचित ब्यवस्थान गर्न प्रतिष्ठानले योजनावद्ध ढंगले काम गरिहेको कार्यक्रममा जानकारी गराइएको थियो ।
प्रतिष्ठानका निमित्त उपकुलपति एंव शिक्षाध्यक्ष डा. बसन्त लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा स्वास्थ्यजन्य फोहरमैला ब्यवस्थापनमा भइरहेको कार्यबारे प्रतिष्ठानका डेपुटी रजिष्ट्रार झन्कार लामिछानेले प्रकाश पारेका थिए ।











