काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले ठगीको आरोपमा जेल चलान भएका पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका १९ जना व्यक्तिविरुद्ध चार वटा मुद्दा चलाउन सुझाव दिएको छ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सिआईबीले शाह, उनका भाइ विजयविक्रम शाहसहितका व्यक्तिविरुद्ध ठगी, लिखत सम्बन्धी कसुर, सहकारी ठगी र सङ्गठित अपराधविरुद्ध मुद्दा चलाउनुपर्ने अनुसन्धानबाट खुल्न आएको जानकारी गराएको हो।
अमेरिकी नागरिक ठगिएको उजुरी नेपालस्थित अमेरिकी राजदूतावासले नै जानकारी गराएपछि पृथ्वीबहादुर शाहसहितका सात जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको थियो।
अनुसन्धानमा उनीहरूले ठगीबाट आर्जन गरेको सम्पत्ति घर, जग्गालगायतको कारोबारमा लगानी गरेको पनि खुल्न आएको सिआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिएका छन् । ठगीबाट आर्जित रकम ३८ करोड, ८६ लाख ६२ हजार १३६ रुपैयाँ रहेको खुल्न आएको छ।
घटनामा संलग्न पृथ्वीसहित सात जना पक्राउ परेका छन् भने अन्य १३ जना फरार रहेका छन्। शाहको समूहले ठगी गरी नेपाल ल्याएको रकममध्ये १ करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ बैङ्कले रोक्का गरिदिएको सिआईबीको अनुसन्धानमा उल्लेख छ। घटनामा संलग्न सबैलाई पीडितलाई क्षतिपूर्ति दिनलाई सात वर्ष कैद र ७० हजार जरिवाना हुने कानुनी व्यवस्था गरेको प्रवक्ता थापाले बताए ।











