काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ६४ दिनमा नै अल्पमतमा परेको छ। सत्ता साझेदार प्रमुख दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हो।
गत पुस १० गते गठन भएको प्रचण्ड नेतृत्वको सरकार एमालेले आज र राप्रपाले फागुन १३ गते आफ्ना मन्त्रीलाई फिर्ता बोलाएसँगै सरकार अल्पमतमा परेको छ।
प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनका दलहरुलाई धोका दिदै राष्ट्रिपति चुनावमा नेपाली काग्रेसलाई समर्थन गर्ने निर्णय गरेपछि सरकार सत्ता साझेदार नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट वाहिरिएका हुन् ।
एमालेबाट उपप्रधान एवं अर्थमा विष्णु पौडेल, कृषिमा ज्वालाकुमारी शाह, उद्योगमा दामोदर भण्डारी, भूमिमा राजेन्द्र राई परराष्ट्रमा विमला राई पौड्याल, महिला तथा बालबालिकामा भगवती चौधरी, रक्षामा हरि उप्रेती मन्त्री रहेका थिए। उनीहरुले आज पार्टीको सचिवालय बैठकले सरकारबाट वाहिरिने निर्णयसँगै मन्त्रीबाट राजिनामा दिएका छन् ।
नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्री दुबै पद माओवादीलाई नदिने भनेपछि आफूलाई सहयोग गर्न भन्दै प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पुगेका थिए । सोही अनुसार नेकपा एमालेको सहयोगमा गत पुस १० गते प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सरकार गठन भएको थियो ।
सरकार अल्पमतमा परेपछि अब प्रचण्डले ३० दिनभित्र फेरि विश्वासको मत लिनुपर्ने छ ।











