धनुषा, २४ पुस । सिरहाको एक विद्यालयमा पानी भनेर स्प्रिट पिउँदा एक जना छात्राको ज्यान गएको छ । मिर्चैया नगरपालिका–६ सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जनाकुमारी महराको ज्यान गएको हो ।
अस्ति शुक्रवार पेट दुखेपछि सिर्जनाले औषधि खान पानी मागेकी थिइन् । शिक्षिका अम्बिका लम्सालले पानी भनेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएकाले सिर्जनाको ज्यान गएको बताइएको छ ।
सिर्जनाको उपचारका क्रममा हिजो शनिवार कर्जन्हाको फुलकुमारी महतो अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । छात्राको मृत्यु भएपछि स्थानीयवासीहरु आन्दोलनमा उत्रिएका छन् । शिक्षिकाको लापर्बाहीका कारण छात्राको ज्यान गएको भन्दै स्थानीयवासीहरुले बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको मिर्चैयामा सडक बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।











