काठमाडौँ । प्रधानमन्त्री बन्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेसम्म १६९ सांसदको समर्थन पाएका छन् । एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी ७ दलका १६६ सांसदको समर्थन पाइसकेका प्रचण्डले थप ३ जना स्वतन्त्र सांसदको समर्थन पाएका हुन् । उनलाई स्वतन्त्र सांसद प्रभु साह, अमरेशकुमार सिंह र किरण साहले समर्थन गरेका हुन् ।

साह पूर्व माओवादी अर्थात प्रचण्डकै पार्टीका नेता हुन् । पछिल्लो समय माओवादी र एमाले मिलेर बनेको नेकपा विभाजन हुँदा उनी एमालेमा रहेका थिए । तर, एमालेको टिकट लत्याएर उनी स्वतन्त्र उम्मेदवारी दिएर रौतहट ३ बाट विजयी भएका थिए । त्यस्तै, अमरेशकुमार सिंह नेपाली कांग्रेसले पार्टीबाट निस्कासन गरेका नेता हुन् । उनले स्वतन्त्र उम्मेदवारी दिएर सर्लाहीबाट जितेका थिए ।

२७५ सदस्यीय प्रतिनिधी सभामा प्रचण्डले प्रधानमन्त्री बन्न स्पष्ट बहुमत पाउने भएका छन् ।