काठमाडौं, ६ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति शमशेर जबरालाई पद तथा गोपनीयतको शपथ गराउदैछन् ।
आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष ज्येष्ठ सदस्य जबराले शपथ लिदैछन् । राणाको जन्म विसं १९९८ मङ्सिर २४ गते रहेको छ ।
प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।
सभामुखको चयन नहुँदाका बखत प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरु सदस्यलाई शपथ गराउने व्यवस्था छ । सो अनुसार जबराले अन्य सदस्यलाई यही पुस ७ गते दिनको १ बजे शपथ गराउने सङ्घीय संसद् सचिवालयले जनाएको छ । जबरा राप्रपाबाट सांसदमा निर्वाचित भएका हुन् ।











