हिजो देखि देशभर लगातार बर्षा भएकाले देशभरको जनजीवन प्रभावित भएको छ । लगातार अविरल पानी परेका कारण  लुम्बिनी प्रदेशका आसपासका जिल्ला चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम कपिलबस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची र दाङको जनजीवन कष्ठकर बनेको छ ।

लगातार वर्षा भइरहेका ठाउँका खोला नाला तथा नदीमा बाढीको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। खोला तरेर दसैँको टीका लगाउन ओहोरदोहोर गर्दा विशेष सतर्क हुन आग्रह गरिएको छ।

हिजो टीका थाप्न कै लागि हिँडेका बेला खोलाले बगाउँदा केहीको ज्यान गएको छ । यस्तै, पहिरोको जोखिम रहेकाले खेतीपाती, घाँस दाउराको काम गर्दा पनि ख्याल गर्न भनिएको छ । चिप्लो र भिरालो क्षेत्रमा घाँस दाउरा नगर्न सुझाव दिइएको छ।

गण्डकीसँगै, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र बागमती प्रदेशका केही तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तगर्तको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उक्त क्षेत्रहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने साथै कृषि, पर्यटन, पर्वतारोहणलगायत  दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि ठूलो वर्षाको अनुमान गरिएको छ। अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ । पर्सी शनिवारसम्म नै देशभर वर्षाको सम्भावना रहेकाले हिँडडुल गर्दा सावधानी अपनाउन मौसमविद्को अनुरोध छ।