काठमाडौं, ५ मंसिर । निजामती सेवामा अब श्रेणी हटाएर तहगत व्यवस्था गरिने भएको छ । निजामतीभित्रै स्वास्थ्य सेवा र संस्थानहरूमा तहगत व्यवस्था भएकाले सरकारले निजामती अध्यादेशमार्फत एकरूपता ल्याउन लागेको हो ।

श्रेणीलाई तहगत व्यवस्थामा रूपान्तरण गरेर कर्मचारीलाई प्रोत्साहन गर्न खोजिएको संघीय मामिला तथा सामान्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठका अनुसार प्रदेश र स्थानीय तहमा पनि तहगत व्यवस्थाअनुसार नै कर्मचारी व्यवस्थापन गरिएको छ ।

विद्यमान निजामती सेवा ऐन, २०४९ अनुसार राजपत्रांकित तृतीयदेखि विशिष्ट र राजपत्र अनंकित प्रथमदेखि पाँचौँसम्मका कर्मचारीको श्रेणीगत व्यवस्था छ । तर, स्वास्थ्य सेवा, सार्वजनिक संस्थान, प्रदेश र स्थानीय तहमा तहगत व्यवस्था छ ।