काठमाडौं, ८ असोज । ट्राफिक प्रहरीले चाडपर्वका वेला हुने ट्राफिक दुर्घटना न्यूनीकरण गर्न नाइट भिजनसहितको ‘लेजर स्पिड गन’ प्रयोग गर्ने भएको छ । दिवा र रात्रिकालीन दुवै समयमा चल्ने सवारीसाधनको गतिलाई सही तवरले मापन गर्ने भएकाले ट्राफिक प्रहरीले स्पिड गनको प्रयोगलाई तीव्रता दिने भएको हो ।

ट्राफिक प्रहरीसँग अहिले दिवाकालीन समयमा चल्ने सवारीसाधनको गति मापन गर्न १० र रात्रिकालीन समयमा चल्ने सवारीसाधनको गति मापन गर्न नाइट भिजनसहितको पाँचवटा ‘लेजर स्पिड गन’ छ । ट्राफिक प्रहरीले नाइट भिजनसहितको स्पिड गनको संख्या थप्ने तयारी गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले स्पिड गन सवारीसाधनको गति नियन्त्रण गर्न प्रभावकारी देखिएकाले चाडपर्वका वेला यसको प्रयोगलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

‘हामीसँग दिवाकालीन समयमा सवारीसाधनको गति नाप्ने स्पिड गन त थियो नै । अहिले नाइट भिजनसहितको स्पिड गन पनि छ । यसले रात्रिकालीन समयमा चल्ने सवारीसाधनको गति सही तवरले नाप्न मात्र नभई सवारीसाधन सही तवरले चिन्नसमेत सक्छ । त्यसैले हामीले यसको प्रयोगलाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने ।

ट्राफिक प्रहरीका अनुसार चाडपर्वमा विशेष गरी ओभर स्पिड र ओभरलोडका कारण धेरै सवारी दुर्घटना हुने गर्छ । ओभरलोड नियन्त्रण गर्न ट्राफिक प्रहरीले न्युरोड एरिया, ठमेल, कालीमाटी, कलंकी, बल्खु, कोटेश्वर, गौशाला, चाबहिल, बौद्ध, बालाजु बसपार्कलगायतका क्षेत्रमा विशेष निगरानी बढाउनेछ । ओभर स्पिड नियन्त्रणका लागि भने ‘स्पिड गन’ प्रयोगलाई प्राथमिकता दिनेछ । यसका लागि ट्राफिक प्रहरीले सडकको मुख्य लेनमा प्रतिघन्टा ५० किमि र सर्भिस ट्र्याकमा प्रतिघन्टा २० किमि गति निर्धारण गरेको छ । निर्धारित गतिभन्दा तीव्र गतिमा हुइँकिने सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिनेछ । र, आवश्यक कारबाही अघि बढाउनेछ । नयाँ पत्रिकाबाट