तुलसीपुर, १३ असार । दाङको टरिगाउँ एयरपोर्टको हवाई सेवा सञ्चालनमा सहजता ल्याउन हवाई इन्धनको व्यवस्था सुरू भएको छ । तीन वर्ष पहिलो हवाई इन्धन डिपोको लागि बाउजरसहितको सामग्री आइसकेको हल्ला गरिएको तुलसीपुरमा शनिबार हवाई इन्धन भण्डार गर्ने एउटा ‘भाँडो’ आएको छ ।

tarigaun-bimanवर्षौँपछि दाङको टरिगाउँ एयरपोर्टमा रिफ्युलर भण्डारणका लागि ३० हजार किलोलिटर क्षमताको ट्यांक आईपुगेको छ । भारतबाट नेपालगञ्ज नाका हुँदै ल्याईएको रिफ्युलर ट्यांक शनिबार मात्रै टरिगाउँ एयरपोर्टमा आईपुगेको हो ।

यसअघि पटक–पटक जिल्लाका राजनीतिक दल र स्थानीय सरकारका प्रतिनिधिहरूले रिफिलिङ ट्यांक, बाउजर एयरपोर्टमा ल्याउन लागिएको भन्दै हल्लासमेत फैलाएका थिए । बाउजर, फ्युल ट्यांक खरिद भयो, काठमाडौँबाट हिडिसक्यो, मंगलबार मात्रै तुलसीपुर आईपुग्छ भनेर वर्षौँ पहिले हल्लाखल्ला मच्चाएका थिए ।

हल्ला गरेको झण्डै तीन वर्षपछि भएपनि ट्यांक आईपुगेनन् । तर यसपटक भने हल्ला गरिएका ट्यांकहरूमध्ये एउटा ट्यांक शनिबार मात्रै तुलसीपुर आईपुगेको हो प्रदेश टुडेमा खबर छ। अरू भने खरिद प्रकृयामै रहेको टरिगाउँ विमानस्थल प्रमुख कैलाश शर्माले बताए ।