इन्द्रेणी संवाददाता
दाङ, ६ जेठ । बढ्दो कोरोना जोखिम न्यूनिकरण गर्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको समयमा विरामीलाई अस्पताल र घरसम्म पुग्न सहज बनाउने उद्देश्यले रोटरी क्लव दाङले अटो एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

atoo aaघोराही क्षेत्रका लागि १० ओटा अटो एम्बोलेन्स सञ्चालनमा ल्याइएको रोटरी क्लव दाङका अध्यक्ष चेतनारायण पाण्डेले बताए । ‘यो लकडाउनको समयमा विरामीलाई अस्पतालसम्म पुग्न र अस्पतालबाट घरसम्म पुग्न सहज होस् भनेर हाललाई १० ओटा अटोएम्बुलेन्स सञ्चालनमा ल्याएका छौं’, उनले भने, ‘यसले विरामीलाई केही सहज भएको महसुस् गरेका छौं ।’

सञ्चालनमा आएका अटोहरुलाई सामान्य भन्दा केही मोडिफाइसमेत गरिएको छ । अटोचालक र यात्रु बस्ने भागलाई प्लाष्टिकले दुई भागमा विभाजन गरिएको छ । जसले विरामी र अटोचालक बीच सिधा सम्पर्क हुँदैन ।

अटो चालकहरुको स्वास्थ्य सुरक्षाका लागि उनीहरुलाई पीपीई, मास्क र स्यानिटाइजर, ग्लोब्स, बुटलगायतका स्वास्थ्य सामग्री उपलव्ध गराइएको क्लवका कोभिड रिलिफ कोर्डनेटर मिनराज भाटले जानकारी दिए । उनका अनुसार अटोचालकहरुको प्रतिअटोचालक रू। ५ लाखबराबरको स्वास्थ्य बीमासमेत गरिएको छ ।

एम्बुलेन्सको रुपमा सञ्चालन गरिएका ती अटोहरुले विहान ८ बजेदेखि वेलुका ८ बजेसम्म बजार क्षेत्रमा रहेर सेवा प्रदान गर्दै आएका छन् भने अन्य समयमा टेलिफोनसम्पर्कबाट सेवा प्रदान गर्दै आइरहेका छन् । सेवा दिए वापत अटोहरुले अन्य समयजस्तै सामान्य भाडादरमा शुल्क लिंदै आएका छन् ।

तत्कालका लागि अटो एम्बोलेन्सबाट सेवा दिएपनि निकट भविश्यमा एम्बुलेन्स नै खरीद गरेर सेवालाई विस्तार गरिने अध्यक्ष पाण्डेले बताए ।

क्लवले कोरोना संक्रमित भई होम आईशोलेसनमा वसेका विरामीहरुलाई पाँच जना चिकित्सकहरु राखेर काउन्सिलिङ् गर्ने काम पनि गर्दै आएको छ भने कोरोना संक्रमणको शंका लागेका विरामीहरुको घरघरमा पुगेर स्वाब संकलन गर्ने, अक्सिजनको अभाव भएका अस्पतालहरुमा अक्सिजन उपलव्ध गराउनका लागि समन्वयको कामसमेत गर्दै आएको छ ।

दाङमा बढ्दो कोरोना जोखिमलाई नियन्त्रण गर्नका लागि स्थानीय प्रशासनले गत वैशाख १७ गतेदेखि निषेधाज्ञा जारी गरेको छ ।