काठमाडौं, २ चैत्र । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको वार्ता निष्कर्षविहीन भएको छ ।
आज पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्तामा दुवै पक्षले पार्टीलाई एकताबद्ध गर्दै अघि बढाउने प्रतिबद्धता जनाए पनि आ–आफ्ना अडान कायमै राखेपछि वार्ता निष्कर्षविहिन भएको हो ।
गएको फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपा पूर्ववत् रूपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अवस्थामा पुगेको भन्दै त्यसपछिका निर्णयको प्रभाव शून्य हुनुपर्ने अडान नेता नेपाल पक्षले राखेको थियो ।
त्यस प्रस्तावअनुसार अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसलापपछि फागुन २८ गते गरेको निर्णय फिर्ता वा खारेज गरेको जानकारी गराउनुपर्ने थियो । तर २८ गतेको निर्णय खारेज गर्ने पक्षमा ओली नरहेपछि वार्ता सकारात्मक दिशामा अघि बढ्न नसकेको प्रतिक्रिया नेता नेपाल पक्षका नेताले दिएका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपालले पुरानै अवस्थामा फर्किऔँ भनेर गरेको प्रस्ताव अध्यक्षले स्वीकार नगर्दा बैठकको अन्त्य टर्रो रूपमा भएको प्रतिक्रिया दिए ।











