शान्त कुमार बुढा मगर

असोज २२, रोल्पा । रोल्पा जिल्लामा एकै दिन ३ जनाले आत्महत्या गरेका छन् ।
बुधबार रोल्पामा ३ जनाले एकै दिन विभिन्न स्थानमा आत्महत्या गरेका छन । आत्महत्या गर्नेहरुमा २ जना झुण्डिएर र एक जनाले विष सेवन गरी आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ३ जनै महिला रहेका छन् ।जिल्लाको लुङग्री गाउँपालिका वडा नं ४ ठुलो नम्जा निवासी १७ वर्षिया पार्वती खड्काले साझ ८ बजे आफु सुत्ने कोठमा घरको दलिनमा सल प्रयोग गरेर झुण्डिएको अवस्थामा परिवारले फेला पारेको थियो भने रोल्पा नगरपालिका १० धवाङकी २२ वर्षिया आशा पुनले सल प्रयोग गरेर घरमा झुण्डिएको अवस्थामा परिवारले फेला पारेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरिक्षक शंकर खड्काले जानकारी दिए ।

प्रवक्ताले सुनछहरी गाउँपालिका ६ भिउरीबाङ निवासी २१ वर्षकी ममता पुन मगरले नाम नखुलेको विष सेवन गरी सुनिलस्मृति गाउँपालिका ५ क्वालिगाँउ माइति घरमा अचेत अवस्थामा भेटिएकी ममतालाई उपचारको लागि अस्पताल लिदै गर्दा बाटोमा मृत्यु भएको जानकारी दिनुभयो ।

आत्महत्या गर्नुको कारण थाहा नभएको र घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।