सल्यान, २६ भदौ । सल्यानका करीब ७५ प्रतिशत घरधुरी विद्युतको पहुँचबाहिर छन् । जिल्लालाई नै पूर्णरूपमा विद्युतीकरण गर्ने लक्ष्यसहित काम अगाडि बढाए पनि जिल्लाका हालसम्म ७५ प्रतिशत घरधुरी अझै विद्युत्को पहुँचबाहिर रहेको नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रले बताएको छ ।
जिल्लाभर हाल करीब ५१ हजार घरधुरी छ । तीमध्ये करीब १३ हजार घरधूरीमा मात्रै विद्युतीकरण गरिएको सल्यान वितरण केन्द्र प्रमुख अर्जुन पोख्रेलले जानकारी दिए । उनका अनुसार पछिल्लो समय जिल्लामा विद्युतीकरणका लागि धमाधम काम भइरहेको छ भने जिल्लाभर विद्युतीकरणका लागि करीब ५० प्रतिशत संरचना निर्माण गरिएका छन् ।
केन्द्रका अनुसार जिल्लाका १० ओटा स्थानीय तहमध्ये सबैभन्दा धेरै शारदा नगरपालिकामा र सबैभन्दा कम कालीमाटी गाउँपालिकाका विद्युतीकरण गरिएको छ । शारदा नगरपालिकामा करीब ८० प्रतिशत घरधुरीमा विद्युतीकरण गरिएको प्रमुख पोख्रेलको भनाइ छ । यस्तै कालीमाटी गाउँपालिकामा १० प्रतिशत विद्युतीकरण गरिएको छ ।
यस्तै छत्रेश्वरी गाउँपालिकामा ७० प्रतिशत, कपुरकोट र त्रिवेणी गाउँपालिकामा ६०/६० प्रतिशत, सिद्धकुमाख, कुमाख र दार्मा गाउँपालिकामा २५/२५ प्रतिशत विद्युतीकरण गरिएको छ । यस्तै बागचौर र बनगाड कुपिण्डे नगरपालिकामा करीब ३५ प्रतिशत विद्युतीकरण गरिएको छ ।
‘जिल्लामा विद्युतीकरणका लागि अहिले धमाधम संरचना निर्माण भइरहेका छन्, केन्द्र, प्रदेश र स्थानीय तहहरूले पनि विद्युत् सेवाका लागि धेरै बजेट विनियोजन गरेका छन्, यही स्केलमा बजेट विनियोजन भएमा अबको ३ वर्षदेखि ४ वर्षको अन्तरालमा पूरै जिल्ला विद्युतीकरणको पहुँचभित्र आउँछ’, प्रमुख पोख्रेलले भने । उनले ५० करोडदेखि ६० करोड बराबरको काम गर्न सकियो भने जिल्लाभर विद्युत् पुग्ने बताए ।
करीब ६ प्रतिशत विद्युत् चुहावट घट्यो
नेपाल विद्युत् प्राधिकरण सल्यान शाखाले जिल्लामा विद्युत् चुहावट करीब ६ प्रतिशतले घटेको बताएको छ । अघिल्लो आर्थिक वर्षमा जिल्लामा १८ प्रतिशत विद्युत् चुहावट रहेकामा आर्थिक वर्ष २०७६र७७ मा घटेर १२ दशमलव ७ प्रतिशतमा झरेको कार्यालय प्रमुख पोख्रेलले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०७६/७७ मा केन्द्रले ४ करोड ३३ लाख राजस्व संकलन गरेको छ भने ५३ लाख पुरानो बक्यौता रकम असुल गरिएको छ । यस्तै कालोसूचीमा परेका ग्राहकहरूबाट २ लाख १९ हजार विद्युत् बक्यौता उठाउन बाँकी रहेको उनको भनाइ छ अभियानमा खबर छ।











