तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ को प्रतापकोटबाट जितवहादुर घर्तीले सधै तुलसीपुर वजारको उज्यालो नियाल्थे । उपमहानगरपालिकाको अग्लो डाँडो अम्वासमा वस्ने घर्तीलाई तुलसीपुरको उज्यालो आकाशको जुन हेरेजस्तो लाग्थ्यो ।

IMG_1872वर्षाैदेखि वजारको उज्यालो हेर्दै मन अमिलो वनाउन वाध्य उनी जस्ता यहाँका केयौ जनताको खुसी विगत तीन महिनादेखि उचाईमा पुगेको छ । मोवाईल चार्ज गर्नका लागि समेत वजार जानुपर्ने वाध्यता भोग्दै आएका त्यहाँका जनताहरु घरमा टेलिभिजन राख्ने सोच वनाइरहेका छन् ।
“वत्ती आएर हाम्रो घरमात्रै होइन मन पनि उज्यालो भएको छ ” स्थानीय लिलामणी बाँठाले वताए ।

उनले मोवाईल चार्ज गर्न पनि तीन घण्टा हिडेर वजार जानुपर्ने वाध्यताको अन्त्य भएको सुनाए । सोलारबाट सामान्य वत्ती वाल्ने जोहो गरेको भएपनि वर्षामा त्यसले कामै नगर्ने पनि उनले वताए । “वर्षालाग्दा बाटोको कारणले वजार पनि जान मिल्दैन थियो, वत्ती विनाको अध्यारो मात्रै होइन फोन पनि गर्न सकिदैन थियो” वाँठाले विगतको दुख पोखे ।

तर बिगत ३ महिना यता भने उनीहरुको जीवन सहज भएको छ । “वत्ती भएपछि धेरै कुराको सजिलो भएको छ ” प्रतापकोटकी सुनिता गुरुङ्गले वताइन् । उनले वत्ती आएपछि गाउँमा सहज भएको वताइन् । “राती टुक्की वाल्दा आगलागीको खतरा हुन्थ्यो त्यो पनि सजिलो भएको छ ” गुरुङ्गले वताइन् । स्थानीय विद्यार्थी झरना वुढाले रातीको समयमा पढ्न सजिलो भएको वताइन् । उनले वत्ती आएपनि भोल्टेज पुरै नआएको भन्दै विद्युत प्राधिकरणलाई अनुरोध गरेको समेत जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिकाको पहलमा नेपाल विद्युत प्राधिकरणले विद्युत नपुगेका थर्कोट, प्रतापकोट, अम्वास, किमुगैरा लगायतका विभिन्न ठाउँमा विद्युत विस्तार गरिरहेको वडाध्यक्ष विजय विकले वताए । उनले वर्षाैदेखि वत्ती नै नपुगेको ठाउँमा स्थानीय सरकारको पहलमा पुर्याउने काम भइरहेको समेत वताए । वत्ती नपुगेका वडा नम्वर ३ का विकट ठाउँमा रहेका ४ सय ८५ घरमा यसै वर्ष वत्ती पुर्याउने गरी काम अगाडी वढेको पनि अध्यक्ष विकले जानकारी दिए ।